प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भारतलाई विश्वासमा लिन सकेनः पूर्वमुख्यमन्त्री राउत


काठमाडौं, १ साउन । जसपा नेपालका नेता एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले छिमेकी मुलुक भारतलाई विश्वासमा लिन नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चाहेर पनि वा नचाहेर पनि नेपाललाई भारतको सहयोग आवश्यक रहेको बताए । भारतले नेपालको विकास र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ । उनले नेपाल–भारतबीचको सम्बन्ध सुधारको जरुरत रहेको बताए ।

‘सरकारले जसरी भारतीय सरकारलाई विश्वास दिलाउनुपर्ने, विश्वासमा लिनुपर्ने थियो, त्यस किसिमको कन्फिडेन्स निर्माण हुन सकिराखेको छैन । यो दुःख लाग्दो कुरा हो । किनभने चाहेर वा नचाहेर मित्र राष्ट्र भारतको सहयोग हामीलाई अपरिहार्य छ । नेपालको जति पनि राजनीतिक परिवर्तनहरु छन्, ती परिवर्तनहरुमा महत्वपूर्ण भूमिका खेल्दैआएको, नेपालको विकास, शान्ति र स्थिरतामा भारतको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो सम्बन्धमा सुधार गर्नु अहिलेको सरकारको दायित्व हो । जिम्मेवारी हो । भारतलाई जिस्काएर, उसलाई हानी हुने किसिमका गतिविधि गर्छौं । उसलाई अगेन्समा गएर कुनै किसिमका गतिविधि गर्छौं भने नेपालको लागि राम्रो हुँदैन,’– उनले भने ।

छिमेकी राष्ट्र भारत र चीनबीच समान विदेश नीति अवलम्बन गरिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘हाम्रो लागि मित्र राष्ट्र भारत र चीनसँग समान विदेश नीति हो । त्यसमा पनि खास भारतसँग हाम्रो अरुभन्दा पनि फरक छ । योसँग एकदमै सौहार्दपूर्ण सम्बन्ध कायम गर्नुपर्छ । यसमा सरकार गम्भीर हुनुपर्छ । अन्य भन्दा पनि मित्र राष्ट्र भारतसँग हामी धेरै किसिमले जोडिएका छौं । यहाँ धार्मिक, सांस्कृतिक र बेटीरोटीको सम्बन्ध रहँदै आएको छ ।’