काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले केपी शर्मा ओलीको सहमतिबिना कोही पनि पार्टीको अध्यक्ष बन्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको आगामी नेतृत्व अध्यक्ष ओलीकै सहमतिमा चयन हुने बताएका हुन् ।
‘अहिलेसम्मको नेतृत्व उहाँले नै गरिराख्नुभएको छ । आगामी दिनमा पनि उहाँले म यो नेतृत्व गर्छु भनिरहेको अवस्थामा, सबै कार्यकर्ताहरुको पनि केपी शर्मा ओलीले नै नेतृत्व गर्नुपर्छ भन्ने आवाज छ । मलाई लाग्छ केपी शर्मा ओलीको सहमतिविना अरु कोही पनि अध्यक्ष हुने सम्भावना हुँदैन,’– उनले भने ।
साथै, एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले निर्णय गरेर उपयुक्त जिम्मेवारी दिने पनि उनले बताए । ‘विद्या भण्डारी आउन सक्नुहुन्छ । उहाँले म राजनीति गर्छु भनिसकेपछि उहाँ आउन सक्नुहुन्छ । एमालेले उहाँलाई के जिम्मा दिन्छ भन्ने चाहिँ पार्टीको कुरा हुन्छ । संस्थागत निर्णय हुन्छ,’– उनले भने ।




प्रतिक्रिया