काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले राजकुमार गुप्ता मधेश मूलका भएको कारणले उनलाई राजीनामा दिन बाध्य पारिएको बताएका छन् । उनले अहिले घुस डिल गरेको अडियो प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले राजीनामा नदिने बताएका छन् । उनले बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जे गर्नपनि छुट रहेको बताएका छन् ।
यादवले फेशबुक पेजमा लेखेका छन्-
ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । वालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जो गर्न पनि छूट छ ।
सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरुका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।
भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरु मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ ।
बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।




प्रतिक्रिया