काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द र घण्टी चुनाव चिन्ह हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुली घर भएका युवराज पौडेल (सफल) ले लामिछानेको पार्टीको नामबाट ‘स्वतन्त्र’ र चुनाव चिन्ह घण्टी हटाउन माग गरेका हुन् ।
रास्वपालेआफ्नो नाममा जोडेको ‘स्वतन्त्र’ भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएका, स्वन्तन्त्र भन्ने शब्दको चीरहरण भएको, आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने काम भएको उजुरीकर्ताको दाबी छ ।
रास्वपाले जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोजेको उजुरी कर्ताको दाबी छ । ‘कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार सिद्धान्त उद्धेश्य नीति, कार्यक्रमहरुको आवश्यकता पर्ने गर्दछ । अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन पार्टीले आफ्ना कार्यक्रमहरु स्वतन्त्र तरिकाले गर्न सक्छ । तर पार्टी आफैँ स्वतन्त्रसमेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु हुन यसै निवेदनमार्फत अनुरोध गर्न माग गर्दछु,’– उजुरीमा भनिएको छ ।
त्यस्तै, रास्वपाले चुनाव चिन्हको रुपमा प्रयोग गरेको घण्टी दुई तिहाई हिन्दुहरुको मुल्य मान्यता आस्था विश्वाससँग जोडिएको उजुरीकर्ता सफलले उल्लेख गरेका छन् । हिन्दु धर्मावलम्बीहरुले पुजा पाठमा प्रयोग गर्ने घण्टीलाई पार्टीको चुनाव चिन्ह बनाउनु धार्मिक मान्यता इतिहास बोकेको घण्टीको राजनीतिक दुरुपयोग रहेको उनको तर्क छ । रास्वपाको चुनाव चिन्ह घण्टी दुई तिहाई भन्दा बढी धर्मावलम्बीहरुको आस्था विश्वासको केन्द्र रहेको भन्दै उनले कसैको आस्थामाथि प्रहार गरी घण्टीलाई चुनाव चिन्ह दिन नमिल्ने बताएका छन् ।
‘घण्टी हिन्दु धर्मावलम्बीहरुको साझा प्रतिक हो आस्था हो विश्वास हो अत राष्ट्रिय पहिचान भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिन्ह बनाउन पाइदैन साथै धर्म निरपेक्षताको सिद्धान्तलाई स्वीकार गर्ने पार्टीले हिन्दुहरुको आस्था भएको घण्टीलाई चुनाव चिन्ह बनाउन मिल्ने विषय समेत होइन । अत सो चुनाव चिन्ह संशोधन गरी पाउँ भनी यो निवेदन पेश गरेको छु,’– उनले भनेका छन् ।




प्रतिक्रिया