काठमाडौं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विचौलियाहरुले आफूलाई भेटेको स्वीकार गरेका छन् । आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले विचौलियाहरु मालपोत अधिकृतलाई फिर्ता गराउन भन्दै आएको बताएका हुन् ।
मन्त्री अधिकारीले विचौलियाहरुको अभीष्ट पूरा नभएको दाबी गरे । उनीहरुको अभीष्ट पूरा नभएकै कारण अहिले आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको बताए । ‘यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो । आफ्नो योजना पूरा गर्न खोजेका, आफ्नो अभीष्ट पूरा गर्न खोजेका व्यक्तिहरुले आफ्नो अभीष्ट पूरा भएन भन्ने हिसाबले मालपोत अधिकृतलाई फिर्ता गराउनको निम्ति यहाँ आएका थिए । मैले हुन्न भनेँ । हुन्न भनेपछि यी कुराहरु बाहिर आयो । किनकी मालपोत अधिकृत पुस महिनामा सारिएको छ । अहिले अडिओ आएको छ । अनि यो कुन नियतबाट ल्याइएको छ भन्ने प्रष्ट हुन्छ,’– उनले भने ।
साथै, उनले .उक्त अडिओसँग संलग्न व्यक्तिहरु मन्त्रालय र आफूसँग सरोकार राख्ने व्यक्ति नरहेको पनि बताए । उनले उक्त अडिओमा आफ्नो आवाज र कुनै काम गर्दिन्छु भनेको फेला परेको खण्डमा जस्तोसुकै पनि सजाय भोग्न तयार रहेको बताए । हल्लाको भरमा नलाग्न उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।




प्रतिक्रिया