काठमाडौं, १ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बस्ने दिन गनेर समय खेर नफाल्न सरकारलाई सुझाव दिएका छन् । आज (बिहीबार) कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका लागि आगामी २०८४ अघिका एक–एक दिन महत्वपूर्ण रहेको र त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताएका हुन् ।
‘२०८४ सालसम्म हामी नेपालको लार्जेष्ट पार्टी छौं । सरकारमा छौं । यो दुई वर्षको समय खेर फाल्ने सुविधा हामीसँग छैन । बेलाबेलामा प्रधानमन्त्रीज्यूले के भनेको सुन्छु भने– अब एक वर्ष म हुन्छु । एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छुु । हिसाब–किताबको बारेमा अब कुरा नगरौं । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी हाम्रो पालो आयो भनेर औंला भाँच्दै बस्ने हो र ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले एक वर्षमा के गर्ने भनेर योजना बनाएर काम गरिनुपर्ने बताए । कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुरुमा लय समाते पनि बीचमा आएर बरालिएको उनको दाबी छ । ‘सुरुमा हामीले मेहनत पनि गर्यौं । दुईवटा पार्टी मिलेर बन्दा गति पनि समातेको थियो । बीचमा अहिले यो बरालिएको छ । अहिले खाली यो दिन गनेर बसेको जस्तो भएको छ । आज आइतबार गयो, सोमबार आयो, सोमबार गयो, मंगलबार आयो । एक जनाले बोल्दिएपछि ढल्दैन, ढल्दैन भन्यो । यसकै वरिपरी भएको छ । यसबाट बाहिर निकाल्न पर्छ,’– उनले भने ।




प्रतिक्रिया