नेविसंघको अडानको समिति सभापति थापाद्धारा प्रशंसा, शिक्षक नियुक्ती शत प्रतिशत खुला प्रतिष्पर्धाबाट हुनुपर्ने


काठमाडौं, १ साउन । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा ऐन जारी गर्नको लागि नेपाल विद्यार्थी संघले खेलेको भूमिका र सिर्जना गरेको दबाबको प्रशंसा गरेका छन् । नेविसंघले शिक्षक छनोट पद्धतीलाई योग्यतामा आधारित शतप्रतिशत खुला प्रतिष्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागु गर्नुपर्ने माग गरेको थियो ।

नेविसंघले अघि सारेको सो मागप्रति समितिका सभापति थापाले माग ग्रहण गर्दै नेविसंघ नेतृत्वको भूमिकाको प्रशंसा गरेका हुन् । उनले विद्येयक अब चाँडै सदनबाट पारित हुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको साथ खोजेका छन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सार्वभौम संसद्मा ५० वर्षपछि टेबल हुँदै गरेको विद्यालय शिक्षा विद्येयक विद्यार्थीमैत्री बनाउन नेविसंघका मातहतका कमिटीहरुले स्वतःस्फूृर्त आन्दोलन गरेको स्मरण गराउँदै त्यसमा केन्द्रीय संघको समेत ऐक्यबद्धता रहेको स्पष्ट पारेका थिए ।

नेविसंघले पछिल्लो समय विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नको लागि सरकार र सरोरवालासमक्ष जनदबाबसमेत सिर्जना गरेको छ । यस्तै, उसले शिक्षक नियुक्ति १०० प्रतिशत खुला प्रतिष्पर्धाबाट हुनुपर्ने अडान लिएको छ ।