काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किनु गलत रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रको अभिभावक र संविधानको संरक्षक भएर देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति दलको राजनीतिमा फर्किन नहुने बताएका हुन् ।
साथै, उनले विद्या भण्डारीको क्रियाकलाप र अभिव्यक्तिले एमाले नफुट्ने पनि उनले बताए । नेता अधिकारीले विद्या भण्डारीलाई पानीकोे फोकाको संज्ञा दिए । माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता व्यक्तिहरु लाग्दासमेत नफुटेको एमाले विद्यादेवी भण्डारीको कारण नफुट्ने उनको दाबी छ ।
‘केपी ओली बाहेक पनि पार्टी चलाउन सक्ने मान्छे धेरै छन् भनेर विद्याले नै भनेको कता–कता सुनेको छु मैले । उहाँले फुटको विउ रोप्ने मनशायको साथ भन्नुभएको हो कि होइन, त्यो बुझ्न बाँकी छ । त्यो मनशायको साथ हो भने माधव नेपालले नसकेको, झलनाथले नसकेको, वामदेवले नसकेको । अहिले पार्टी एकतावद्ध बनाउँदै फुटेको पार्टीलाई यहाँसम्म उठाउने काममा, उहाँलाई सर्वोच्च पदमा पुर्याउने काम केपी ओलीले गरिरहनुभएको छ,’– उनले भने ।
साथै, विद्या भण्डारी राजनीतिमा फर्किएको बारेमा नेपाली कांग्रेसले प्रश्न उठाएको पनि उनले स्वीकार गरे । उनले केन्द्रीय समितिले चाहेको खण्डमा भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्न सक्ने बताए । देशको अभिभावक भइसकेको व्यक्ति पार्टीको क्रियाशील सदस्य हुँदा पार्टीलाई फाइदा पुगे पनि देश, संविधान र गणतन्त्रलाई यसले फाइदा नपुर्याउनले उनले बताए । एमालेले त्यसबारे पनि सोच्ने उनको भनाइ छ ।
‘त्यो प्रक्रिया प्रारम्भ गर्नुभयो उहाँले जिल्ला कमिटीबाट । उहाँ पार्टीको दुई पटक उपाध्यक्ष भएको, केन्द्रीय कमिटीमा भइसकेको व्यक्तित्व भएको हुनाले उहाँलाई यो जनाकारी छ । राष्ट्रको अभिभावक एउटा पार्टीको क्रियाशील हुन्छु भन्ने कुरा व्यक्तित्वको हिसाबले नेकपा (एमाले) लाई त फाइदा होला । तर, देश, संविधान र गणतन्त्रलाई के हुन्छ ? भन्ने एमालेले नसोचेर हुन्छ ? सोच्छ,’– उनले भने ।
भण्डारी राजनीतिमा फर्किँदा राजावादी र पुनरुत्थानवादीहरुलाई फाइदा पुग्ने र उनीहरुले भन्ने ठाउँ पाउने नेता अधिकारीले बताए । भण्डारी राजनीतिमा फर्किने कुराले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल नदिने उनको दाबी छ ।




प्रतिक्रिया