काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य अच्युत प्रसाद मैनालीले घुस प्रकरणमा मुछिएको नेताहरुको सन्दर्भमा पार्टिले अबिलम्ब स्टेप चाल्ने बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीतर्फ लक्षित गर्दै उनले आज बस्ने पोलिटव्यूरो बैठकले थप निर्णय गर्ने बताए । भूमि व्यवस्था मन्त्री अधिकारीले आफ्नो छोरामार्फत ३२ लाख घुस लिएको प्रकरण सार्वजनिक भएको थियो । यद्यपि मन्त्री अधिकारीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । नेता मैनालीले मन्त्रीहरुको घुस प्रकरणले पार्टी र सरकार बदनाम भएको बताए ।
‘कुनै पनि व्यक्तिलाई आरोप लागेछि सफाइको मौका दिनुपर्छ । सुनुवाइको मौका दिनुपर्छ । तथ्यहरु संकलन गर्नुपर्छ । अबिलम्ब यो सबै कुरामा स्टेप चालिन्छ । उहाँ (ओली) ले निर्देशन दिइसक्नुभएको छ । केही समय हामी पर्खिऔं । यो विषयले पार्टी बदनाम भएको छ, सरकारको बदनाम भएको छ । अत्यन्त ठूलो मूल्य हामीले चुकाइसकेका छौं । यसमा हामी सबै कठोर छौं । सम्माननीय प्रधानमन्त्रीज्यू पनि यो विषयमा कठोर हुनुहुन्छ । अब केही दिनमै परिणाम आउँछ । पार्टीको बैठक चलिराखेका छ । यो पार्टीको छलफलको पनि विषय हो । हिजोमात्रै पनि यो विषयमा कुरा उठेको छ । मलाई लाग्छ आजको पोलिटव्युरो बैठकबाट यो सबै कुराको टुङ्गो लाग्छ,’– उनले भने ।
साथै, आजको पोलिटव्यूरो बैठकमा सरकारको समीक्षा, मन्त्रीहरुको पर्फर्मेन्सको मूल्याङ्कन र पार्टीको विधान महाधिवेशनको बारेमा छलफल हुने उनले बताए । ‘सरकारको समीक्षाको विषय पनि रहन्छ नै । मन्त्रीहरुको पर्फर्मेन्सको बारेमा पनि मूल्याङ्कन हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा अगामी वर्ष हामी महाधिवेशनमा प्रवेश गर्दैछौं । महाधिवेशनको तयारीको सन्दर्भमा त्यो भन्दा छ महिना अगाडि हामीले विधान महाधिवेशन गर्नुपर्ने हुन्छ । त्यसको मिति तोकिइसकिएको अवस्था छ । पार्टीका आन्तरिक संगठन सुदृढीकरणदेखि लिएर, सदस्यता नविकरण, विधान महाधिवेशनको तयारी र त्यसको छ महिनापछि राष्ट्रिय महाधिवेशनको तयारीमा यो पोलिटव्यूरो बैठक केन्द्रीत हुन्छ,’– उनले भने ।




प्रतिक्रिया