काठमाडौं, २ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै मुलुकको राजनीति तातिएको छ । राष्ट्रिय राजनीतिको चर्चाको पात्र बनेकी भण्डारीले एमालभित्र आफ्नो स्पेस बढाउँदै लगेकी छिन् । गत असार १४ गते सार्वजनिक रुपमै आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले एक टिभी अन्तर्वार्तामा सक्रिय राजनीतिमा फर्किनुको मुख्य उद्देश्य नै एमालेको नेतृत्व लिनु भएको घोषणा गरेकी थिईन् ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भण्डारीको एमाले नेतृत्व बन्ने आकांक्षामा ब्रेक लगाउनेगरि तयारी थालेका छन् । उनले अहिले भण्डारीलाई नेतृत्व सुम्पिन नसकिने सार्वजनिक रुपमै भनिसकेका छन् । यतिमात्रै होईन, पार्टीको आगामी भदौ तेस्रो साता हुने विद्यान महाधिवेशनमा भण्डारीलाई प्रतिनिधि हुनपनि बन्देज लगाईएको छ ।
हिजो बसेको सचिवालय बैठकमार्फत विद्यान महाधिवेशनमा भाग लिनको लागि १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई मात्रै दिईने प्रस्ताव गरिएको छ । विद्या भण्डारीको सक्रिय राजनीतिको विषयमा राष्ट्रिय राजनीतिका मुख्य व्यक्तिहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । तर, सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने चासो लिएका छन् ।
उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग भण्डारीको पार्टी सदस्यता नवीकरण गरेको विषयमा पनि असहमति राखेको बताईन्छ । ओलीले भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषय आफूलाई थाहा नै नभएको जवाफ दिएका थिए । देउवाले मुलुकको नेतृत्वमा पुगिसकेको व्यक्ति पार्टीको राजनीतिमा फर्किँदा राम्रो सन्देश नगएको भन्दै असहमति राखेको कुरा बाहिर आएको छ ।
तर, कांग्रेसमा अरु नेताहरुले भने भण्डारीको सक्रिय राजनीतिमा फकिृएको विषय उनको निजी विचार भएकोले यसमा आपत्ति जनाउनुपर्ने विषय नभएको बताएका छन् । आजमात्रै शेखर कोइरालाले भण्डारीसँग एक घण्टा लामो भेटवार्ता गरेका छ्न । शेखरले भण्डारीलाई राजनीतिमा फर्किएकोमा स्वागत गरेको बताईन्छ ।
उता, भण्डारीले पनि आफू देशमा केही गर्नुपर्ने देखेर राजनीतिमा फर्किएको भन्दै नैतिक समर्थन खोजेकी थिईन् । शेखरले सुशासनको सवालमा मिलेर आवाज उठाउनुपर्ने भन्दै विद्याको राजनीतिमा सक्रियतालाई स्वागत गरेका थिए । सभापति देउवाले भण्डारी राजनीतिमा फर्किएको विषयमा गम्भीर चासो राख्दा शेखरले भने विद्यालाई घरमै पुगेर भेटेर राजनीतिमा फर्किएको विषयमा स्वागत गरेका छन् ।




प्रतिक्रिया