ओली सरकार ढाल्ने प्रचण्ड-शेखरको कुरा, होला त पूरा ?


काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सत्तारुढ दलबाटै आलोचित भइराखेको छ । वर्तमान सरकारको विरुद्धमा सबैभन्दा ठूलो सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले आलोचना गरिराखेका छन् भने सरकारलाई समर्थन गरेका र मन्त्रिमण्डलमा सहभागी भएका केही साना दलहरु धमाधम बाहिरिइराखेका छन् ।

यसबीचमा नेपाली कांग्रेस र नेकपा (माओवादी) बीच पुनः समीकरण हुने समेत चर्चा चल्ने गरेको छ । यद्यपि माओवादीसँग पुनः सहकार्य गर्नेबारे कांग्रेसका नेताहरु भने मौन छन् । कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला लगायतले सरकारको निरन्तर आलोचना गरिराखेका छन् ।

कोइरालाले आफ्नो सक्रियता पनि बढाउँदै गएका छन् । उनले हिजो (बिहीबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा नेताद्वयबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रचण्ड–शेखरबीच दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा लामो छलफल भएको स्रोतको दाबी छ । भेटवार्ताको क्रममा प्रचण्ड र शेखरबीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नेबारे छलफल स्रोतको दाबी छ । दुई घण्टा लामो छलफलको क्रममा शेखरले प्रचण्डलाई सरकार ढाल्ने प्रयास गर्न सुझाव दिएका थिए ।

प्रचण्डले जवाफमा पहिला कांग्रेसभित्रको समीकरण मिलाउन शेखरलाई भनेका थिए । प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुन आवश्यक रहेको प्रसंग निकाल्दै प्रचण्डले पहिला त्यतातिरको प्रयास गर्न शेखरलाई सुझाएको स्रोतको दाबी छ ।

पार्टीका नेताहरुले सरकार ढाल्नेसम्मको बहस चलाइरहँदा यता सभापति शेरबहादुर देउवा भने मौन देखिन्छन् । सबैभन्दा कम बोल्ने नेताको छवि बनाएका देउवा छैठौं पटक प्रधानमन्त्रीको दौडमा छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयभन्दा एक दुई हप्ता पहिला नै सरकार छाडिदिने भनेर देउवालाई भरोसा दिलाउँदै आएका छन् । प्रधानमन्त्री ओलीले प्रायः कार्यक्रममा सत्ता हस्तान्तरणको बारेमा बोल्ने गरेका छन् ।

सरकारको काम कारबाही र मन्त्रीहरुको पर्फमेन्सका बारेमा प्रश्न उठिरहेको बेलामा देउवाले कुनै प्रक्रिया दिइसकेका छैनन् । यता इत्तर समूहका नेता तथा सांसदहरुले भने सक्रियता बढाएका छन् । नेपाली कांग्रेसभित्र देउवालाई नेतृत्व हस्तान्तरणको दवाबसमेत रहेको छ । दोस्रो पटक पार्टी हाँकिरहेका देउवालाई तेस्रो पटक सभापति बन्न पार्टी विधानतः मिल्दैन । आगामी पार्टीको १५औं महाधिवेशनमा देउवाले पार्टी राजनीतिबाट बाहिरिने निश्चित छ । उनलाई छैठौं पटक प्रधानमन्त्री नबन्न बेलाबखत पार्टीका नेताहरुले सुझाव दिने गरेका छन् । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमै देउवालाई प्रधानमन्त्री छाड्न सुझाएका थिए ।

यता देउवाको हातबाट संसदीय दलको नेता खोस्न नसकेसम्म शेखरको प्रधानमन्त्री हुने चाहना पूरा नहुने निश्चित छ । गत २०७९को निर्वाचनपछि संसदीय दलको नेतामा महामन्त्री थापा र देउवाबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा भएको थियो । कांग्रेसका कूल ८९ सांसदमध्ये देउवाले ६४ मत पाएर संसदीय दलको नेतामा विजयी भएका थिए । गगन २५ मतमै सीमिति भएका थिए । संसदीय दलको नेता परिवर्तन गर्नका लागि शेखरलाई ४५ मत आवश्यक पर्छ । अहिले कांग्रेसभित्र शेखरको त्यो खालको परिस्थिति बनिसकेको अवस्था छैन । त्यसकारण शेखर–प्रचण्डले चाहेर पनि देउवाको साथ बिना प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढाल्न असम्भव नै छ ।