झलनाथले गरे वामपन्थीको सरकार बन्ने कुरा


काठमाडौं, २ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले दम्भ र घमण्ड छाडेको खण्डमा वामपन्थी एकता हुनसक्ने बताएका छन् । आज (शुक्रबार) पार्टी एकताको सन्दर्भमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आ–आफ्ना स्वार्थ र घमण्ड त्याग्ने हो भने अहिले नै वामपन्थीहरुको सरकार बन्ने सम्भावना रहेको बताए ।

‘कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने अहिले पनि संसद्मा हामी १३२ भन्दा बढी सिटमा छौं । एकआपसमा राम्रो समझारी हुने हो भने अहिले पनि वामपन्थी सरकार यो देशमा बन्न सक्छ । तर, जुन प्रकारले दम्भ, घमण्ड, आत्मकेन्द्रीत चिन्तन भएका मानिसहरुले कतिपय वामपन्थी समूहहरुको नेतृत्व गरिराखेका छन्,’– उनले भने ।

आज देशमा वामपन्थीहरु विभाजित हुने, दक्षिणपन्थीहरुलाई हर प्रकारले फाइदा हुने यो प्रक्रिया जारी रहेको उनले बताए । दक्षिणपन्थीहरुलाई फाइदा हुने प्रक्रिया नरोकेको खण्डमा ०८४ को मिसन भासभुस हुने उनको दाबी छ । उनले आफूहरुबीचको एकताले पार्टीलाई बलियो र अझ क्रान्तिकारी बनाएको दाबी गरे ।