समाज डेण्टल अस्पतालको २५ औं वार्षिकोत्सवमा १ करोडको दन्त उपचार कोष घोषणा


काठमाडौं, २ साउन । समाज डेण्टल अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आर्थिक रूपमा कमजोर नागरिकहरूका लागि १ करोड बराबरको दन्त उपचार कोषको घोषणा गरेको छ।

अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले सबै नागरिकलाई गुणस्तरीय दन्त सेवा पुर्‍याउने उद्देश्यले समाज डेण्टलको स्थापना गरिएको जानकारी दिए। उनका अनुसार अस्पतालले हाल काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा रहेका १० शाखाबाट सेवा दिइरहेको छ। भविष्यमा भने देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

उक्त कोषमार्फत आर्थिक रूपमा विपन्न वर्गलाई निःशुल्क वा सहुलियत दरमा दन्त उपचार प्रदान गरिनेछ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ प्रवर्द्धनका लागि दन्त उपचार क्षेत्रको विस्तार र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। आँखा र दाँतजस्ता क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विश्वसनीयता कायम गर्नु आवश्यक रहेकोमा उनले जोड दिए।

त्यसैगरी नेपाली कांग्रेसका प्रमुख सचेतक तथा अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले देशभर अस्पतालको सेवा विस्तार गर्दै जनचेतना अभिवृद्धि, सर्वसाधारणको पहुँच वृद्धि र आवश्यक दन्त स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको स्पष्ट पारे।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आगामी दिनमा झन प्रभावकारी रूपमा संचालन गर्ने जनाएको छ।