शेखर कोइराला कांग्रेसको संसदीय दलको नेता बन्ने कुरा दिउँसै सपना देखेकोजस्तै हो, यो सम्भव छैन : रमेश रिजाल (भिडिओसहित)


काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश रिजालले कांग्रेसको संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउन सम्भव नभएको बताएका छन् । उनले डा. शेखर कोइरालाले सभापति देउवालाई दलको नेताबाट हटाउन सम्भव नै नभएको जिकिर गरे । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्ड र विद्या भण्डारीले भनेर नेपाली कांग्रेसको संसदीय दलको नेता छानिने हो र ? त्यो त नेपाली कांग्रेसले छान्ने हो नि । शेखरजी बन्न सम्भव नै छैन् ।’ उनले पार्टीभित्र देउवको पक्षमा रहेका नेताहरु एनपी साउद र बालकृष्ण खाँण शेखरको गुटमा नगएको समेत दाबी गरे । उनले भने,‘एनपी साउद र बालकृष्ण खाँण देउवाजीसँग नै इनट्याक्ट हुनुहुन्छ । कोही कतै गएका छैनन् ।’

उनले शेखर कोइरालाले संसदीय दलको नेता बन्छु भनेको हो दिउँसै सपना देखेकोजस्तो भएको टिप्पणी गरे । उनले भने,‘शेखर कोइराला दलको नेता बन्न सक्नुहुन्न, यदि उहाँले यो सोच्नुभएको छ भने दिउँसै उहाँले सपना देख्नुभएको छ । यदि यो कुरा सत्य हो भने । संसदीय दलको नेता म हुन्छु भन्नुभएको छैन् । यदि हो भने त्यो अजमजाए हेर भैगयो त नि ।’ उनले शेखर कोइरालामा विचारमा प्रष्ट नभएको आरोप लगाए । उनले विचारमा स्पष्ट अडान भएको व्यक्ति नभएकोले शेखर दलको नेता वा प्रधानमन्त्री केही पनि नबन्ने ठोकुवा गरे ।