काठमाडौं, ३ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् । उनले भने,‘यो गठबन्धनको अहिले विकल्प छैन । ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ । तलमाथि हुने कुनै सम्भावना छैन ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे । उनले भने,‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’
उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने,‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन ।’

नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारील्े पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने,‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको उल्लेख गरे । तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने उनले जानकारी दिए । उनले भने,‘यो विषयले सिंगो देश तरंगित भएको छ । एमालेभित्र नभएर कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत यो विषय प्रवेश गरेको छ । विज्ञ र विश्लेषकहरुले विचार राख्नुभएको छ। हामी संसदीय प्रणालीलाई अवलम्बन गरेका छौं । सुधारिएको संसदीय प्रणाली भन्नुपर्छ । राष्ट्रपति भएकाहरु सामान्यतय राजनीतिमा आएको देखिँदैन । खासगरी बेलायत र भारतमा त्यस्तो देखिँदैन । संघीय गणतन्त्रको प्रतिकको रुपमा रहने राष्ट्रपति पूनः राजनीतिमा नआए हुन्थ्यो भन्ने जनताको भावना देखिँदैछ । यो पार्टीको विषयवस्तु भएको हुँदा केन्द्रीय कमिटीको बैठकमा निक्र्यौलमा पुग्छौं । साउन ५ गतेबाट केन्द्रीय कमिटीको बैठक बस्दैछ । तर, पार्टीकै नेतृत्व गर्ने भन्ने सन्दर्भमा हाम्रो पार्टीमा गम्भीरताका साथ छलफल भैरहेको छ।’
भारत र चीनले ठूलो आर्थिक फड्को मारेको दृष्टान्त पेश गर्दै उनले नेपालले समृद्धिको यात्रामा फड्को मार्न नसकेकोमा भने चिन्ता व्यक्त गरे । उनले भने,‘हामीले नेकपाकालिन समयमा समृद्धिको एजेण्डा बनाएका हौं । गत वर्षको तुलनामा अहिले अर्थतन्त्रका हरेक सूचांक राम्रो छ। १३ प्रतिशतले राजश्व वृद्धि भएको छ। बीआरआई अघि बढ्ने अवस्थामा छ । एमसिसीबाट लाभ लिने अवस्था छ । बंगलादेशमा विद्युत बेच्ने स्थिति बनेको छ । भौतिक पूर्वाधार विकास भएको छ । जसरी विकासले गति लिनुपर्ने हो, त्यो नभएको साँचो हो । अहिले ९० प्रतिशत जनताको घरमा विजुली पुगेको छ । ९० प्रतिशत जनताको घरमा पानी पुगेको छ । जनताको आशाअनुसार काम हुन नसकेको हो । त्यसमा सुधार गर्नुपर्छ । तर, हुँदै नभएको होईन विकास भएको छ । यो पर्याप्त छैन । अब गति बढाउनुपर्छ ।’
उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे । उनले भने,‘अब संविधान संशोधन समय आएको छ । दुनियाँको कुनै पनि संविधानभन्दा कम नहुनेगरि संविधान लेख्यौं । तर, कार्यान्वयनको चरणमा हेर्दा हामी सन्तुष्ट हुने अवस्था छैन । प्रतिनिधिसभामा पनि संख्या घटाउने हो । मन्त्रालय घटाउने हो । प्रतिनिधिसभा पूर्णतयः प्रत्यक्ष हुनुपर्छ । तर, त्यसमा सबैको महिला, दलितलगायतको टिकट सुनिश्चित् हुनुपर्छ । राष्ट्रियसभालाई पूर्ण समानुापतिक बनाउनुपर्छ ।’
उनले मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने आवाज उठाए । उनले भने,‘यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान हुनुपर्छ । अभियोजन गरेर दण्डित गर्नुपर्छ । राजीनामा दिएरमात्र उन्मुक्ति गर्ने कुरा अन्त्य हुनुपर्छ । मेरो पार्टीका नेता परुन् वा अरु जोकोही परुन मेरो भनार्य क्लियर छ अब कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन ।’




प्रतिक्रिया