काठमाडौं, ४ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गणतन्त्रको प्रतीक र प्रथम नागरिक भएको बसिसकेको व्यक्तिलाई दलको राजनीतिमा ल्याउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुकका प्रथम नागरिक भएर बसिसकेको ब्यक्तिलाई शीरभन्दा तल राख्न नमिल्ने बताएका हुन् ।
‘खासगरी उहाँ हाम्रो पार्टीको नेतामात्रै होइन । एमालेको एउटा सदस्य, एउटा कार्यकर्तामात्र बनेर खट्ने तहको व्यक्तित्व होइन उहाँ । उहाँ भनेको यो मुलुकको एउटा टावरिङ पर्सनालिटी हो । मुलुकले पत्याएको दुई पटकको राष्ट्रपति हो । हामीले पार्टीको पार्टीको सामान्य कार्यकर्ताको हिसाबले राखेर थन्क्याउने रुची होइन । हाम्रो रुची उहाँलाई शीरमा सजाउने हो,’– उनले भने ।
नेता तामाङले पार्टी सचिवालय बैठक र पोलिटव्यूरो बैठकको निष्कर्ष उनी राजनीतिमा फर्किने र कुनै एउटा पार्टीको सदस्य हुने भन्दा गणतन्त्रको पूर्व राष्ट्रपतिको हैसियतमा रहने कुरा नै ठीक हो भन्ने कोणबाट छलफल चलेको उनले बताए । नेता तामाङले अहिले भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा रहेको बताए । भण्डारीले पार्टीको सदस्यताको घेराभित्र रहेर काम गर्न नहुने नेता तामाङले बताए । विगतमा राष्ट्रपति बन्दा पनि भण्डारी पार्टीको निर्णयअनुसार गएको बताउँदै उनले अहिले व्यक्तिगत निर्णयबाट राजनीतिमा आउन नपाउने बताए ।




प्रतिक्रिया