काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले कांग्रेसले आवश्यकत्ताको आधारमा एमालेसँग सत्ता गठबन्धन बनाएको दाबी गरेका छन् । तर, कांग्रेसले एमालेसँग समर्पण नगरेको उनको दाबी छ । हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन गर्दा गरिएको वाचाअनुसार सरकारले काम नगरेको भनेर शेखर कोइरालाले उठाएको कुरा जायज रहेको कर्णको पनि भनाई छ ।
उनले अहिले संविधान संशोधन गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने सवालमा कांग्रेस पनि चुकिरहेको शेखरको निश्कर्षमा आफ्नो समर्थन रहेको सुनाए । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले मुलुकमा शान्ति स्थापना गरेको, सुशिल कोइरालाले संविधान दिएको र अहिलेका सभापति शेरबहादु देउवाले संविधानको सफल कार्यान्वयन गराएको उनको दाबी छ ।
उनले अब देउवाले नेपाली कांग्रेस नफुटाउने ठोकुवा गरे । उनले भने,‘शेरबहादुर देउवा पार्टीको जिम्मेवार नेता हो । उहाँले अब फेरि पार्टी फुटाएर जानुहोला भन्ने काम उहाँले पटक्कै गर्नुहुन्न । उहाँकै नेतृत्वमा कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ ।’ उनले अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया