कांग्रेस-एमालेकै कारण सरकार ढल्छ, माओवादीले कुनै चलखेल गरेको छैनः लिलामणि पोखरेल


काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति टुटेर यो सरकार आफैं ढल्ने बताएका हुन् ।

‘हामी लागेका छैनौं । सरकार ढल्नेभए आफैं ढल्छ । अहिले तत्काल त्यसमा हाम्रो कुनै सरोकार छैन । अहिले कांग्रेस र एमालेको कारणले सरकार बनेको हो र उनीहरुको बीचमा सहमति हुन्जेलसम्म रहन्छ । सहमति टुट्यो भने त्यो सरकार आफैं ढल्ने हो । हामीले त्यसमा केही गर्नुपर्ने र केही गरेको पनि कुराहरु छैन,’– उनले भने ।

साथै, उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीचको भेटघाटको कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेसम्म मुलुकले दिनदिनै क्षति व्यहोर्ने दाबी गरे । उनले भने, ‘केपी ओलीको नेतृत्वमा यो सरकार अझै लामो समय जाने हो भने मुलुक सबै क्षेत्रबाट, संविधान पनि धराशायी हुनसक्ने, मुलुकको अर्थ व्यवस्था डामाडोल हुनसक्ने, सामाजिक सम्बन्धहरु बिग्रिन सक्ने, अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धहरु पनि बिग्रिने केपी ओलीको नेतृत्वमा सरकार रहुन्जेल मुलुकले दिनदिनै क्षति व्यहोर्ने हो ।’