पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउन हुँदैनः नेता तामाङ


काठमाडौं, ५ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आउन नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवाद कार्यक्रममा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै नेता तामाङले एमालेको मान्यता भण्डारीलाई दलमा ल्याएर बिभाजित गर्न नहुने रहेको बताएका हुन् ।

‘पार्टीभित्रको दृष्टिकोण भनेकै त्यो तहको व्यक्तित्व अर्थात् गणतन्त्रको प्रतिक हामीले राष्ट्रपति जुन बनायौं । त्यो व्यक्तित्व फेरि पुनः पार्टी राजनीतिमा, एउटा पार्टीको चौघेरोभित्र प्रवेश गरेर विभाजित हुन हुँदैन । पक्षधरमा विभाजित हुने कुरै गर्न हुँदैन भन्ने पार्टीको मान्यता हो,’– उनले भने ।

भण्डारीलाई पार्टी राजनीतिमै ल्याउन हुँदैन भन्ने प्रश्न उठेपछि सदस्यता नवीकरण गर्नु र नगर्नुको कुनै अर्थ नहुने उनले बताए । उनले भने, ‘उहाँलाई पार्टीको चौघेरोभित्र ल्याएर त्यहाँभित्र पनि विभाजित हुने, यो पक्ष कि त्यो पक्ष भनेर विभाजित हुने कुरा हामीलाई स्वीकार्य छैन । उहाँलाई त्यहाँ ल्याएर विभाजन गर्ने पक्षमै हामी छैनौं भनेपछि सदस्यता लिनुभयो लिनुभएन, नवीकरण गर्नुभयो, गर्नुभएन यो तर्फको बहस निरर्थक हो ।’