शेखरको गतिविधि देउवालाई मन परेन, दलको नेताबाट हटाउन खोजेको भए कदम चाल्न चुनौती


काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले आफ्नै पार्टीका नेता डा. शेखर कोइरालाको पछिल्लो सक्रियता रुचाएका छैनन् । शेखरले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालदेखि एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

शेखरको सक्रियतालाई धेरैले सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने प्रयत्नको रुपमा बुझेका थिए । पार्टीभित्र पनि यहीअनुसार बहस चलेको छ । सभापति देउवाले पनि शेखरको गतिविधि निको नलागेको भनेर मुख खोलेका छन् । आफूलाई भेट्न आज निवासमा आएका कांग्रेसका पूर्व पदाधिकारीहरुसँगको भेटमा देउवाले यो विषयमा चासो राखेका हुन् ।

उनले दलको नेताबाट आफूलाई हटाउने हो भने कदम चाले भैगयो नि किन विपक्षीहरुको घरमा जानुपर्यो भनेर शेखरको सक्रियताको विषयमा प्रश्न गरेका थिए । आजको बैठकमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व उपसभपाति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व उपसभापति विजयकुमार गच्छदार बुढानिलकण्ठमा पुगेका थिए ।

हिजो चाक्सीबारीमा ७ जना नेता भेला भएका थिए । तीमध्ये डा. शशांक कोइराला र विमलेन्द्र निधि भने आज देउवाको निवासमा गएका थिएनन् । शशांक बिपी स्मृति दिवसको कार्यक्रममा सुन्दरीजलमा थिए । निधि भने नेपालका लागि इजरायलका राजदूतसँग शिष्टाचार भेटवार्तामा व्यस्त थिए । file photo