काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा (एमाले) ले कांग्रेसको मुटुमा आक्रमण गरिराखेको बताएका छन् । आज बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरिराखेको बताएका हुन् । एमालेले निजामति सेवा विधेयकमा रहेको कुलिङ पिरियड हटाउन चलखेल गरिराखेको बताए । उनले कांग्रेस कुलिङ पिरियडको पक्षमा रहेको र त्यस सन्दर्भमा कुनै पनि सम्झौता हुन नसक्ने बताए ।
‘सच्याउने नाममा राष्ट्रिय सभाले, एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको नेपाली कांग्रेसको कोर भ्यालुजमा अट्याक गरेको हो कि होइन ? यो कुरा हामीहरुले बुझ्न जरुरी छ । यो अत्यन्त गम्भीर विषयहरु छ । यो विषयहरुले गर्दा नेपाली कांग्रेसको मुटुमा, कोर भ्यालुजमा एमालेले हामीलाई अट्याक गरिराखेको छ । हामी चुपचाप लागेर बसिराखेका छौं । विपी भएको भए के गर्नुहुन्थ्यो त भन्दाखेरी यो कुराहरु स्वीकार गर्नुहुन्नथ्यो आज । त्यो बुझौं हामी,’– उनले भने ।
साथै, उनले घुस डील गरेको प्रकरणमा एमाले कास्कीले समेत मन्त्रीले राजीनामा दिनुपर्छ भन्दा पनि कांग्रेसले लाछीपना देखाइरहेको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने संकेत गर्दै उनले भने, ‘एक जना मन्त्रीले राजीनामा दिनुभयो । अझ बाँकी हुनुहुन्छ । हामी कति लाछी भइसकेका रहेछौं, नेपाली कांग्रेसका साथीहरु । कास्कीको एमालेको जिल्ला समितिले मन्त्रीले राजीनामा दिनुपर्छ भन्छ, हामी चुप लागेर बसेका छौं । योभन्दा लाछीपन के हुन्छ हाम्रो ?’




प्रतिक्रिया