काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य, वातावरण र जलवायु संकटको समाधानका लागि हानिकारक पदार्थको प्रयोग रोक्न सार्वजनिक सचेतना आवश्यक रहेको बताएका छन्।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित “वातावरण तथा जलवायु परिवर्तन सरोकार” विषयक ३० दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै सभापति देउवाले समाजमा चेतना फैलाउन सबै नागरिकलाई आह्वान गरे।
“हानिकारक पदार्थ, जस्तै मदिरा, सूर्तिजन्य वस्तु र लागू पदार्थको सेवनले क्यान्सरजस्ता घातक रोग निम्त्याउँछ,” देउवाले सम्झाए। उनले स्व. बीपी कोइरालाको निधन पनि घाँटीको क्यान्सरका कारण भएको स्मरण गर्दै, यस्ता पदार्थको प्रभावबाट बच्नुपर्नेमा जोड दिए।
कार्यक्रममा देउवाले नेपाली कांग्रेसका सबै तहका कार्यालयहरू — केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्रीय तथा विदेशस्थित जनसम्पर्क समितिका कार्यालयलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने घोषणा पनि गरे।
उनले भने, “राष्ट्रिय एकता र मेलमिलापको मार्गचित्र दिएका बीपी कोइरालाको स्मृतिमा अब हाम्रा कार्यालयहरू स्वच्छ वातावरण प्रवर्द्धन गर्ने उदाहरण बन्नुपर्नेछ।”
नेपाली कांग्रेसले साउन ६ गते बीपी कोइरालाको स्मृतिमा विविध कार्यक्रम गर्दै स्मृति दिवस मनाउँदै आएको छ। देउवाले बीपीले राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा पुर्याएको योगदानलाई नेपाली इतिहासमा सदैव अमर रहने बताए।




प्रतिक्रिया