काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको अध्यक्ष बन्छु भनेर घोषणा गरेकै कारण अहिलेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई एमालेमा आउन रोकेको दाबी गरेका छन् ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अध्यक्ष बन्ने टकरावको कारण नै ओली र भण्डारीबीच सम्बन्ध बिग्रिएको दबाी गरे । उनले भने,‘कमरेड केपी ओली फेरि पनि एमालेको अध्यक्ष बन्छु भन्नेमा हुनुहुन्छ । म त आजिवन अध्यक्ष बनिराख्छु भन्ने धारणा राख्नुभएको छ । यो उहाँको धारणा र विद्या कमरेडको धारणाबीच टकराब देखियो, यही टकराबको कारण उहाँलाई रोक्न खोजेको होला ।’
एमालेले ढोका बन्द गर्दैमा विद्या भण्डारी राजनीतिमा आउने ढोका बन्द नहुने पनि खनालको भनाई छ । उनले भण्डारीले आत्मनिर्णयको कुरा भएको भन्दै अब आगामी कदम हेर्नुपर्नेमा जोड दिए । विद्यान महाधिवेशनले नै भण्डारीलाई एमालेमा निषेध गरेपनि भण्डारीको राजनीतिमा पूनरागमनमा कुनै समस्या नभएको र ढोका बन्द नहुने खनालको भनाई छ ।
उनले अहिलेका कम्युनिष्ट पार्टीका नेतृत्वभन्दा आफूले नेतृत्व गर्दा १० गुणा राम्रो नेतृत्व प्रदान गर्नसक्ने दाबी गरे । उनले आफू कहिल्यैपनि पदको निम्ति नलडेको जिकिर गरे । उनले आफू विचार र सिद्धान्तको लागि लडेको स्पष्ट पारे । उनले एकीकृत समाजावदी पार्टी समाजवाद ल्याउनको लागि बनाईएको पार्टी भएको दाबी गरे ।




प्रतिक्रिया