म्याक्रोन–मर्जले नाटो र इयु–अमेरिका व्यापारिक विवादमा वार्ता गर्ने


बर्लिन, ७ साउन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नाटो सुरक्षा, अमेरिका–इयु व्यापार विवाद र अन्य प्रमुख मुद्दाहरूमा छलफल गर्न बुधबार बर्लिनमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट गर्दै छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्सअटलान्टिक सम्बन्धलाई हल्लाएपछि म्याक्रोन र मे महिनामा सत्ता सम्हालेका मर्ज युरोपेली सङ्घ (इयु) को मुटुमा रहेको द्विपक्षीय साझेदारीलाई बढावा प्रयासरत छन् ।

“सबैभन्दा महत्त्वपूर्ण सन्देश होः फ्रान्को–जर्मन जोडी काममा फर्केका छन्”, फ्रान्सेली राष्ट्रपतिले मर्जसँग म्याक्रोनको योजनाबद्ध रात्रिभोजअघि भने ।

पेरिस र बर्लिनले लन्डन र वार्सासँग मिलेर रुसविरुद्ध युक्रेनलाई समर्थन गर्ने र नाटोका युरोपेली सदस्य राष्ट्रहरूको रक्षा क्षमता निर्माण गर्ने प्रयासहरूलाई अगाडि बढाएका छन् ।

तर पेरिसले सम्भावित युक्रेन युद्धविरामको निगरानी गर्न शान्ति सेना पठाउने इच्छा देखाएको भए पनि बर्लिनले अहिलेसम्म योगदान दिने कुनै योजना व्यक्त गरेको छैन ।

ट्रम्पले अगस्ट १ सम्ममा कुनै सम्झौता नभएमा इयुविरुद्ध ३० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएपछि मर्ज र म्याक्रोनले संयुक्त राज्य अमेरिकासँगको व्यापारिक विवादबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

– लडाकू विमान असहमति –

“संयुक्त राज्य अमेरिकासँगको भन्सार शुल्क विवादमा हामी अब निर्णायक चरणमा पुगेका छौँ”, मर्जले मङ्गलबार भने, “कम करका दरहरूका साथ निष्पक्ष र भरपर्दो सम्झौताले ट्रान्सअटलान्टिक बजारलाई बलियो बनाउँछ ।”

दुवै नेताले संयुक्त रक्षा परियोजनादेखि ऊर्जा र व्यापार नीतिसम्मका द्विपक्षीय अवरोधहरूबारे पनि छलफल गर्नुपर्नेछ ।

स्पेनसँग संयुक्त रूपमा लडाकू विमान बनाउने विषयमा असहमति रहेको छ ।

मर्जले फ्रान्सका लागि ठूलो नेतृत्वको भूमिकाको विचारमा आपत्ति जनाएका छन् र एउटा सम्झौतामा पुग्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

फ्रान्सेली रक्षा कम्पनी दासाल्टका प्रमुख एरिक ट्रापियरले मङ्गलबार परियोजनाको व्यवहार्यता शङ्कामा रहेको सुझाव दिए ।

उनले पत्रकार सम्मेलनमा भने, “हामीले तीन देशद्वारा सञ्चालित परियोजनाको प्रभावकारितामाथि प्रश्न उठाउनुपर्छ… जहाँ एकजना होइन तीन जना वास्तविक नेता छन् ।”

अर्को जटिल क्षेत्र ऊर्जा हो, जहाँ फ्रान्स आणविक शक्तिमा धेरै निर्भर छ, जसलाई जर्मनीले सौर्य र पवन ऊर्जामा सार्दै चरणबद्ध रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

पेरिसले बर्लिनलाई ‘प्रविधि तटस्थता’ मा प्रतिबद्ध हुन र आणविक ऊर्जालाई जलवायु मैत्री रूपमा वर्गीकरण गर्न चाहन्छ ।

जर्मनीको सोसल डेमोक्रेट र ग्रिन्सको अघिल्लो सरकारले यसलाई अस्वीकार गरेको थियो तर मर्जको केन्द्र–दक्षिणपन्थी सिडियुरसिएसयु यस विचारका लागि बढी खुला हुनसक्छ ।

मेमा दुवै नेताको संयुक्त अखबारी लेखमा दुवैले ‘ऊर्जा नीतिमा पुनः सुरुआत’ र ‘सबै न्यून उत्सर्जन ऊर्जाहरूका लागि इयु स्तरमा समान व्यवहार’ को प्रतिज्ञा गरेका थिए ।

असहमतिको अर्को क्षेत्र दक्षिण अमेरिकाको मर्कोसुर ब्लकसँगको काममा लामो समयदेखि इयु व्यापार सम्झौता भएको छ ।

जर्मनीले यसलाई दृढतापूर्वक समर्थन गरेको भए पनि फ्रान्सले यसको कृषि क्षेत्रमा नराम्रो असर पर्ने डर व्यक्त गरेको छ ।

फ्रान्सेली स्रोतहरूले अगाडि बढ्ने बाटो देखिँदै गरेको र एउटा अतिरिक्त प्रोटोकलले ‘कृषिका लागि बलियो सुरक्षा खण्ड’ थप्न सक्ने बताएका छन् ।

मर्जले बर्लिनको बाहिरी भागमा युद्धपछिका फ्रान्सेली कब्जाकारी सेनाका कमान्डरको पूर्व निवास भिला बोर्सिगमा साँझ ६ः३० बजे (१६३० जिएमटी) मा म्याक्रोनलाई स्वागत गर्नेछन् ।

कार्यक्रममा पत्रकारहरूको प्रश्न बिना प्रेस वक्तव्य, ज्याज प्रदर्शन र कार्यशील रात्रिभोज समावेश छ । रासस