३२ लाखवाला मन्त्रीमाथि छानविन नभएको भन्दै रास्वपाको आपत्ति, कारबाहीको माग


काठमाडौं, ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य विन्दाबासिनी कंशकारले भ्रष्टाचार प्रकरणमा मन्त्रीहरुमाथि छानविन नभएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र घुस काण्डमा मुछिएका मन्त्रीहरुमाथि निष्पक्ष छानविन हुनुपर्ने बताएकी हुन् ।

तत्कालीन संघीय समामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की मालपोतका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख गरी ७८ लाख घुस डील गरेको अडिओ बाहिरिएको थियो । उक्त अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नामसमेत जोडिएको थियो । अडियो बाहिरिएसँगै गुप्ताले बाध्य भएर पदबाट राजीनामा दिएका थिए । अधिकारीले भने अझै राजीनामा दिएका छैनन् ।

‘७८ लाखको काण्ड सेलायो । ३२ लाखवाला मन्त्री यतै छन् । छानविन र कारबाही हुनुपर्छ कि पर्दैैन ? उच्चस्तरीय छानविन र गहिरो प्रणालीगत सुधारका लागि संसदीय विशेष समिति वा न्यायिक आयोग नै आवश्यक छ भन्ने हाम्रो पार्टीको मत हो,’– उनले भनिन् ।

भ्रष्टाचार, राजनीतिक संरक्षण र प्रशासनको मिलेमतोमा वर्षौंदेखि आजसम्म मानव तस्करीको शृङ्खला निर्वाध चलिरहेको उनले बताईन् । सरकारबाट मानव तस्रकरी, संगठित अपराध र भ्रष्टाचारको जालो च्यात्ने आँट नभएको उनको भनाइ छ ।

उनले भिजिट भिसामार्फत भइरहेको मानव तस्करीको विरुद्धमा आफूहरुको माग यथावत रहेको र आन्दोलन जारी रहेको बताईन् ।

साथै, खानेपानीको हाहाकारमा मधेशी जनता तड्पिँदासमेत सरकारले त्यहाँ कुनै पनि पहल नगरेको उनको भनाइ छ । मधेशमा चापाकल सुकेको, रोपाईँ हुन नसकेको, पिउने पानी नपाएको अवस्थामा सरकारका मन्त्रीहरु भने विदेश भ्रमणमा रहेको उनले बताईन् ।