काठमाडौैं, ७ साउन । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठले भ्रष्टाचार रोक्न भुक्तानी भएको चेकमा मन्त्रीले हस्ताक्षर गर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् । अहिले मन्त्रीले आदेश दिने र कर्मचारीले भुक्तानी गर्ने प्रवृत्ति कायम रहँदा भ्रष्टाचार मौलाइरहेको उनको भनाइ छ । चेकमा मन्त्रीको सही नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरुलाई जिम्मेवार बनाउन नसकेको उनले बताए ।
‘भ्रष्टाचार नेपालमा किन भयो ? विभिन्न टेप काण्डहरु किन हुन्छन् ? भन्ने कुराहरुको जहाँसम्म प्रश्न छ । म के भन्न चाहन्छु भने नेपालको संवैधानिक र कानूनी व्यवस्थाले जस्तो खालको निर्णयहरु गर्ने गरेको छ, त्यसको परिणाम हो । म दुई पटक मन्त्री भएको र सांसद पनि दुई पटक भएको । मन्त्रीहरुले नीतिगत निर्णय गरेको हुन्छ । भुक्तानी दिने, साह्रा कुरा सचिवहरुको काँधमा हुन्छ । आदेश दिन्छ नीति निर्माताले, कार्यान्वयन गर्छ सचिवले । फाइल हेर्यो भने आदेश दिनेको त कहीँ सही हुँदैन नि । फाइलमा, चेकमा सही कस्को हुन्छ भन्दा व्यूरोक्रेशीको हुन्छ । अख्तियारले जसले चेकमा सही गर्यो, भुक्तानी गर्यो उसलाई अनुसन्धान गरेको हुन्छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएर विद्यादेवी भण्डारी राजनीतिमा आउने हो भने उनलाई रेड कार्पेट ओच्छ्याएर स्वागत गरिनुपर्ने बताए । ‘विद्या भण्डारी राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उहाँ कुन व्यवस्थाको वकालत गर्नु हुन्छ । उहाँको मुख्य एजेण्डा के हो ? त्यसमा भर पर्छ,’– उनले भने ।




प्रतिक्रिया