माधव नेपालको ओलीलक्षित टिप्पणीः नेतृत्व खोसिने डरले विद्या भण्डारीलाई पार्टीमा निषेध गरियो


काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्व खोसिने डरले केपी ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध गरेको बताएका छन् । नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको सन्दर्भमा समाजवादी मोर्चा नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘कोही मान्छे पार्टीमा आउला, मेरो नेतृत्व खोसिदेला भन्ने डरले प्रवेश निषेध गर्दिने प्रवृत्तिहरु अहिले देखिएको छ ।’

हिजो (मंगलबार) बसेको नेकपा (एमाले) को केन्द्रीय समिति बैठकले भण्डारीलाई पार्टीमा निषेध गरेको थियो । एमालेको केन्द्रीय समिति बैठकले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न अस्वीकार गरेको थियो । पूर्व राष्ट्रपति राजनीतिमा फर्किने कुरा उपयुक्त नहुने एमालेको निष्कर्ष रहेको छ ।