द्विपक्षीय सुरक्षा सहकार्यलाई अझै सशक्त बनाउने नेपाल–भारत गृहसचिवस्तरीय समझदारी


काठमाडौं, ८ साउन । नेपाल र भारतबीचको समग्र द्विपक्षीय सुरक्षा सहकार्य र सीमासम्बन्धी सहकार्यलाई अझ सशक्त र प्रभावकारी बनाउने समझदारी भएको छ । भारत र नेपालको गृह सचिवस्तरीय वार्ता आज (बुधबार) नयाँ दिल्लीमा सम्पन्न भएको छ । वार्तामा नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी सहभागी छन् । मन्त्रिपरिषद् बैठकको साउन ४ गतेको बैठकले दुवाडीको भारत भ्रमण स्विकृत गरेको थियो ।

उक्त वार्तामा सिमाना स्तम्भहरूको मर्मत तथा संरक्षण, सिमापार आपराधिक गतिविधि नियन्त्रण, सीमा जिल्ला समन्वय समितिहरूको कार्यसम्पादन, एकीकृत जाँच चौकी, सडक तथा रेल सञ्जालजस्ता सीमावर्ती पूर्वाधारको सुदृढीकरण, सुरक्षा सम्बन्धी निकायहरूको सशक्तीकरण तथा क्षमता अभिवृद्धि, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनजस्ता विषयमा गहन छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।