विद्या भण्डारी एमालेको विरुद्धमा जान मिल्दैन : युवराज ज्ञवाली (भिडिओ सहित)


काठमाडौं, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउनुपर्छ भनेर आफूहरुले कुनै दबाब नदिएको स्पष्ट पारेका छन् । भण्डारीले आँफै सक्रिय राजनीतिमा आउँछु भनेको भएपनि अहिले पार्टीले निर्णय गरेर आउन नहुने निर्णय गरेको ज्ञवालीको भनाई छ ।

उनले भने,‘पार्टीले त अब उहाँलाई ल्याउनुहुन्न भनेर नै निर्णय गरिसकेको छ । त्यसमा फरक मत पनि छन् । यो विषयमा पार्टीभित्र छलफल चल्दै जाने हो । तर, निर्णय गर्ने कुरा त पार्टीले जे निर्णय गरेको छ, त्यो मानेर हाम्रो सिस्टम हो ।’ अहिले पार्टीले सक्रिय हुन नदिने भनेर निर्णय गरेको भएपनि प्रतिबन्ध नै लगाएको भन्न नमिल्ने उनको मत छ । आज (बिहीबारं) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँको विचार, भावना के हो ? त्यो हेर्न बाँकी छ ।’

विद्या भण्डारी त अब चुप लागेर नबस्ने भन्ने कुरा आयो र आवश्यक परे विद्रोह गर्छु भन्नुभएको छ नि भनेर पत्रकार धमलाले राखेको प्रश्नमा उनले भने,‘होईन, विद्रोह भन्नाले उहाँ एमालेविरुद्ध लाग्नुहुँदैन । लाग्नपनि हुन्नँ । तर, देशभरिका नेता तथा कार्यकर्तालाई भेट्छु, जबजको प्रचारप्रसार गर्छु भनेपछि कसले रोक्न मिल्छ ? यो राजतन्त्र हो र ? प्रतिबन्ध लगाउने ? प्रतिबन्ध लगाउने कुरा हुँदैन । उहाँ एमालेको नेता भएर काम गर्ने स्थिति अहिलेलाई रहेन । समाज परिवर्तनशील छ । भोलि के हुन्छ भन्न सकिँदैन । अहिले पार्टी सदस्यताको रुपमा रहन हुन्न भन्ने निर्णय गरेको छ ।’