- रामकुमार क्षेत्री
जीवनले कहिलेकाहीँ यस्ता मोडहरू ल्याउँछ, जहाँ बाटो स्पष्ट हुँदैन, तर दृढ इच्छाशक्ति, आत्मविश्वास र कर्तव्यबोधले त्यस मोडलाई यात्राको दिशानिर्देश गर्छ । यस्तै प्रेरणादायी जीवनयात्राका धनी व्यक्ति हुन् – डा. अशोक कुमार क्षेत्री ‘रेशम’ । कठिनाइको घेराबीचबाट उक्लिंदै, शिक्षा, सेवा र समर्पणको अनुपम उदाहरण बनेका डा. क्षेत्री न्यायिक क्षेत्रमा एक सम्मानित र प्रतिबद्ध व्यक्तित्वका रूपमा स्थापित छन् ।
उनको जीवन केवल व्यक्तिगत सफलता मात्र होइन, कष्ट, अभाव र परिश्रमको यात्राबाट सामाजिक परिवर्तन र राष्ट्रसेवा तर्फको प्रेरणादायी सन्देश पनि हो । डा. क्षेत्रीको जन्म अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१०, गच्छेगैरा भन्ने एक दुर्गम गाउँमा भएको थियो । बाल्यकाल सहज थिएन । सानै उमेरमा आमाको निधन हुँदा उनले भावनात्मक रूपमा गहिरो आघात खेपे । तर, त्यस आघातलाई उनले असहायताको कारुणिक कथा होइन, आत्मनिर्भर बन्ने प्रेरणाका रुपमा लिए । अभाव, पीडा र दुःखका बीच उनी जीवनका मूल्यमान्यतासँग कहिल्यै विचलित भएनन् ।
तत्कालिन माध्यामिक तहको नीजि विद्यालयमा अध्यापन गर्दै आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिएका थिए र जिल्लामै कलिलो उमेरका प्रधानाध्यापक समेत भई काम गरेका थिए डा. क्षेत्री। २०६६ सालमा न्यायसेवामा शाखा अधिकृतका रूपमा प्रवेश गरेका उनले २०७१ मा उप सचिव र २०७७ सहसचिवसम्म लोकसेवाको प्रतिश्पर्धाको कसीमा सर्वप्रथम हुदै सफलता पाएका डा. क्षेत्रीले आफूलाई प्राप्त जुनसुकै भूमिकालाई अवसरको रूपमा परिणत गर्न भ्याए। काधमा जिम्मेवारी, मस्तिष्कमा समझदारी र मनमा इमानदारीका साथ अविचलित निष्ठा, पारदर्शिता र दक्षताका साथ कार्यसम्पादन गर्दै आएका छन्
हाल न्याय परिषद् सचिवालयमा सहसचिवका रूपमा कार्यरत डा.क्षेत्री प्रशासन, योजना तथा अभिलेख व्यवस्थापन महाशाखाको नेतृत्व गरिरहेका छन्। यसअघि विशेष अदालतमा रजिष्ट्रार २०२०–२०२३) र सर्वोच्च अदालतअन्तर्गत मेलमिलाप परिषदमा सचिवालय प्रमुखका रूपमा पनि उनी सफलतापूर्वक क्रियाशील रहे। भिजिटिङका रूपमा चक्रवति हावि ल कलेजमा स्नाकोत्तर तहमा करार विषय अध्यापन गर्ने डा.क्षेत्री मेलमिलाप तालिमका कुशल प्रशिक्षक पनि मानिन्छन् ।
विशेष अदालतमा रजिष्ट्रार (२०२०–२०२३) का रूपमा उनले समयमै मुद्दा व्यवस्थापन, प्रविधिको प्रयोग र अभिलेख प्रणालीमा व्यापक सुधार ल्याए। यसअघि सर्वोच्च अदालतअन्तर्गत मध्यस्थता परिषद् नेपालमा उपसचिव (२०१५–२०१८) का रूपमा उनले कानुनी सहमति संस्कृतिको प्रवद्र्धनमा भूमिका खेले ।
डा. क्षेत्रीको कानुनी दृष्टिकोण र मूल्य–निष्ठाको प्रेरणा बनेका थिए उनका आफ्नै स्व। हजुरबुवा खिमानन्दज्यू। जसको घरमा काविल वकिल बनाउने सपना उनले आफ्नै जीवनको लक्ष्य बनाएर एक हदसम्म साकार पारेका छन्।
औपचारिक शिक्षाको विराम लगाएको घोषणा गर्दै सामाजिक संजालमा उनले आफ्ना सबै गुरुजनलाई आभार तथा कृतज्ञता प्रकट गर्दै लेखेका छन्, उनी भन्छन् – “सानैमा आमा गुमाएँ, अभाव थियो, तर ूहजुरबुवाको सपना पूरा गर्ने दृढ अठोटले मलाई कहिल्यै रोकिन दिएन।ू
डा. क्षेत्रीको औपचारिक शिक्षा गच्छेगैराकै अरनिको निमाविबाट सुरु भएको हो । त्यसपछि जनज्योति माध्यमिक विद्यालय हुँदै पाणिनी क्याम्पस, तानसेन पाल्पामा उनले स्नातक तहसम्मको अध्ययन पूरा गरे । नेपाल ल क्याम्पस, काठमाडौंमा एलएल.एम. सम्म अध्ययन गरे ।
शिक्षामा निरन्तरता र समर्पण उनको जीवनको मूल मन्त्र बनेको छ । उनले जापानको ख्यातिप्राप्त Kyushu University मा छात्रवृत्तिमार्फत दोस्रो एलएल.एम. (International Economic and Business Law) हासिल गरे । त्यही विश्वविद्यालयबाट उनले विद्यावारिधी पनि प्राप्त गरे, जुन नेपाली कानुनी वृत्तका लागि गौरवको विषय हो ।
शिक्षामा उनले जुन प्रतिबद्धता देखाए, त्यो केवल डिग्री प्राप्तिका लागि होइन – ज्ञान, विवेक र सामाजिक जिम्मेवारीलाई समेट्ने उद्देश्यका लागि हो ।
डा. क्षेत्रीले आफ्नो पेशागत जीवनलाई सेवा, पारदर्शिता र जिम्मेवारीका रूपमा आत्मसात् गरेका छन् । जुनसुकै पदमा रहे पनि उनले आफूलाई मुलुकको न्याय प्रणाली सुधारमा समर्पित गरेका छन् । हाल उनी न्याय परिषद् सचिवालयमा सहसचिवका रूपमा कार्यरत छन् र अभिलेख व्यवस्थापन तथा प्रशासनिक सुधारको नेतृत्व गरिरहेका छन् ।

उनी कुनैपनि सेवा जिम्मेवारीलाई केवल ‘सरकारी काम’को रूपमा होइन, ‘राष्ट्रिय योगदान’का रूपमा हेर्छन् । यही सोचले उनलाई आजको दिनमा हजारौं कर्मचारी र कानुन विद्यार्थीका लागि प्रेरणाको स्रोत बनाएको छ ।
उनको विद्यावारिधी उपाधिपछि आयोजित सम्मान समारोह न्याय क्षेत्रमा एक ऐतिहासिक क्षण थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, लोकसेवा आयोग अध्यक्ष माधव रेग्मी, र गुरूदेव आचार्य शितलकृष्णजी महाराजजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । यो केवल शैक्षिक उपलब्धिको सम्मान मात्र होइन, जीवन मूल्य, संस्कार र समर्पणको उत्सव बन्यो ।
त्यसै अवसरमा डा. क्षेत्रीले भावुक अभिव्यक्ति दिएका थिएः“आर्जित सिप, ज्ञान र क्षमता सत्कर्म, सुकिर्ति र समृद्धिमा प्रयोग होस् । म सदा सम्झिरहूँ – मुलुक निर्माणमा माटोले केही माग्दैन, आफैले दिनुपर्छ ।”यी शब्दहरूले स्पष्ट रूपमा देखाउँछ कि उनी कुनै व्यक्तिगत पद वा प्रतिष्ठाको लागि होइन, राष्ट्र र समाजको सेवालाई आफ्नो लक्ष्य मानेर अघि बढेका छन् ।
डा. क्षेत्रीको जीवन–दर्शन स्पष्ट छ – जुनसुकै परिस्थितिमा पनि मूल्य–निष्ठा, कर्तव्यबोध र समाजप्रतिको उत्तरदायित्व नै सर्वोपरि हुनुपर्छ । उनी भन्छन–“मूल्यबोध, अनुशासन र निरन्तर अभ्यास नै व्यक्तित्व निर्माणको मेरुदण्ड हो ।”
उनले आफ्नो दुःखलाई उर्जा बनाए, अभावलाई अठोटमा रूपान्तरण गरे र शिक्षा, सेवा र समर्पणलाई जीवनको मूलमन्त्र बनाएका छन् । उनीजस्ता व्यक्तित्वबाट आजको पुस्ताले केवल शैक्षिक अथवा पेशागत प्रेरणा मात्र होइन, जीवनका सबै क्षेत्रमा लागु गर्न सकिने गहिरा मूल्य र संस्कार सिक्न सक्छ ।
डा. अशोक कुमार क्षेत्री रेशमको जीवन नेपालजस्तै विकासशील मुलुकका युवाहरूका लागि एउटा सन्देशमूलक मार्गदर्शन हो । उनका अनुसार – जीवनका कठिनाइहरूले तपाईंलाई रोकेको छैन भने, तपाईंलाई केही पनि रोक्न सक्दैन ।
शिक्षालाई आत्मनिर्भरता बनाउने, सेवालाई राष्ट्रप्रेममा रूपान्तरण गर्ने र व्यक्तिगत पीडालाई सामाजिक उत्तरदायित्वमा बदल्ने उनका आदर्शहरू आजका हरेक युवाले आत्मसात् गर्नसक्ने खालका छन् । आजको समयमा जब मुलुक सुधार, सुशासन र समर्पित नेतृत्वको खोजीमा छ, तब डा. क्षेत्रीजस्ता निष्ठावान र मूल्यनिष्ठ व्यक्तित्वहरू हाम्रो सामाजिक पूँजीका रूपमा अगाडि आउन आवश्यक छ । उनको अनुभवका आधारमा– संघर्षको बाटोबाटै सफलता जन्मन्छ, र सेवा भावनाबाटै सच्चा सम्मान प्राप्त हुन्छ ।




प्रतिक्रिया