दलालहरुसँग मिलेर पढ्न विदेश पठाइयोः कांग्रेस नेता भण्डारी


काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीले नेपाली युवाहरु पढ्नका लागि बाहिर जाउन् भनेर दलालहरुसँग मिलेर नेपालमा स्वस्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न नदिइएको बताएका छन् । नेपाली युवाहरु बाहिर जाउन भनेर यहाँ कुनै पनि संस्था नखोलिएको उनको दाबी छ । नेपालमा पढ्न नपाएर नेपाली युवाहरु मोटो रकम तिरेर भारत, युरोप लगायतका देशहरुमा अध्ययनका लागि गइराखेको र नेपालको सम्पत्ति बाहिरिइराखेको उनले बताए ।

‘मेरो भनाई झुठो होस् । यहाँ तलदेखि माथिसम्म नेपाली युवाहरु बाहिर जाउन, नेपालमा नपढुन् भनेर दलालहरुसँग मिलेर यहाँ खोलिदैन । प्राइभेटमा ३/४ वटा छन् । हाम्रा युवाहरु यति राम्रा छन्, रोबट यिनैले बनाउँछन् । कम्प्युटर यिनैले बनाउँछन् । १२ कक्षा पढेका बच्चाहरुले आइटीमा यो काम गरिराखेका छन् । तर हामीले खोलिदिएनौं । हामीले यसलाई स्वीकृति दिएनौं,’– उनले भने ।

यावत समस्या हुँदा पनि नेताहरुले त्यतातिर ध्यान दिएको, आधिकारिक संस्थाहरुले अनुगमन नगरेको, नेपाली जनताहरु शोषण र अन्यायमा परेको उनले बताए । नेताहरु काम छाडेर विदेश भ्रमणमा मस्त भएको भन्दै उनले भने, ‘नेपालको सम्पत्ति बाहिर गइराखेको छ । हाम्रा नेताहरु भाषण गर्छन् । विदेश घुमेको देख्छु मैले । यहाँ यत्रो काम छ, मलाई त थाहा छैन– यिनीहरु मंगल ग्रहमा विकास गर्न जाँदैछन् कि ? होइन नेपालमा बस्ने हो भने त नेपाली युवाहरुले चाहेको शिक्षा क्षेत्र हेर्नुपर्दैन ?’