‘जनचेतना जगाउने काम भइरहे पनि छाउप्रथा अन्त्य भएको छैन’


टीकापुर, ८ साउन । छाउप्रथा उन्मूलन नहुँदा महिलाको सुरक्षा जोखिम घट्न सकेको छैन । टीकापुर नगरपालिका– ८, ७ र २ लगायतका वडामा अझैँ छाउगोठ रहेका अधिकारकर्मी महिलाहरु बताउँछन् ।

स्थानीय कमला न्यौपानेका अनुसार छाउ प्रथाका कारण माहिलामाथि विभेद गर्नु कानुनी अपराध भए पनि समाजले अझैँ स्वीकारेको देखिदैन । ‘‘टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका ग्रामीण बस्तीमा अझैँ केही घरमा छाउगोठ छन्, छाउगोठ असुरक्षित छन्’’, उनले भनिन्, ‘‘स्थानीय सरकार, सङ्घसंस्था र सरोकारवालाले जनचेतना जगाउने कार्य गरिरहे पनि समाज सुधार्न सकिएको छैन ।’’

छाउप्रथाकै कारण महिलाको ज्यान नै जोखिममा पर्ने गरेको छ । महिनावारी भएका बेला छाउगोठमा बस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाइँको केही दिनअघि निधन भयो । छाउगोठमा सर्पले राति डस्दा उनको मृत्यु भयो । कमलाको मृत्युपछि छाउ कुप्रथाबारे सुदूरपश्चिमका जिल्लामा फेरि बहस थालिएको छ ।

छाउगोठमा बस्दा महिलालाई सर्पले डस्ने, हिंसा तथा असुरक्षा बढ्ने गरे पनि परम्पराका नाममा महिलामाथि अन्याय भइरहेको शिक्षक करुणा शर्माले बताइन् । “ छाउपडी कु प्रथाले किशोरी तथा महिलालाई हिंसामा पारेको छ’’, उनी भन्छिन्, ‘‘समाजले बुझ्ने, परिवारले सुरक्षा पहिलो अधिकार हो भनी सम्झने गर्नुपर्छ । महिनावारी पाप होइन भन्ने मानसिकता विकास आवश्यक छ ।’’

टीकापुर–८ मा अझैँ छाउगोठ देख्न सकिन्छ । विगतमा धेरै सङ्ख्यामा रहेका केही गोठ भत्किए पनि केही गोठ पुनःनिर्माण भएका छन् । मानिसलाई सम्झाउदा पनि अझैँ सुधार नआएको वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउँछन् । ‘‘हामीले स्थानीय महिलाकै सक्रियतामा अघिल्लो कार्यकालमा छाउगोठ भत्कायौँ’’, उनी भन्छन्, ‘‘केही घरमा घरभित्र सुत्न थालियो तर केही घरमा पुनः गोठ निर्माण भए । समाजलाई नियमित सचेत गराउँदा पनि लापरबाही गरिरहेको देखिन्छ ।’’

जानकी गाउँपालिका–८, ९ लगायतका वडामा पनि छाउगोठमा अझैँ महिला बस्छन् । महिलाको सुरक्षाका लागि जोखिम रहेका छाउगोठ भत्काउन पालिकाले अभियान चाले पनि समाजले अभ्यास गरिरहेको वडा नं ८ का वडाध्यक्ष तीर्थराज उपाध्याय बताउँछन् । ‘‘हामीले थप सचेतना फैलाउनुपर्छ’’, उनी भन्छन्, ‘‘कानुनी व्यवस्थाबारे जानकारी दिने र कारबाहीका कार्य गरेमा मात्र सुधार हुने देखिएको छ ।’’

छाउ प्रथा उन्मूलनका लागि गरिएका पहल सार्थक हुन नसकेका सरोकारवालाकै भनाइ छ । कानुनी रुपमा छाउप्रथा मान्नु अपराध भए पनि कार्यान्वयमा आउन सकेको छैन । टीकापुर नगरपालिकाले २०७७ सालमा कार्ययोजना बनाएर जनप्रतिनिधि सहितको सहभागितामा छाउगोठ भत्काएको थियो । महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाह भन्छिन् ‘‘छाउप्रथा बार्ने, अलग्गै गोठमा सुत्नेहरु अझैँ छन् । मानिसका गलत मानसिकता भत्काउन सकिएको छैन ।’’

महिनावारी भएका बेला सरसफाइ र पोषणमा ध्यान दिनुपर्नेमा गोठमा राख्ने, खान नदिने कुरा गलत भएको टीकापुर नगरपालिकाका सिनियर अनमी हिमा ज्ञवाली बताउँछिन्। ‘‘महिनावारी पाप होइन, यो त सन्तान जन्माउनका लागि महिला सक्षम हुनु हो भनी खुसी मनाउने कुरा हो’’, उनी भन्छिन्, ‘‘महिनावारीमा समयमा सरसफाइ नपुग्दा पाठेघरको मुखको क्यान्सरको जोखिम बढेको छ । पर्याप्त सरसफाइ, आराम र पोषिलो खानेकुरामा मात्र ध्यान दिनुपर्छ ।’’

स्वास्थ्यकर्मी ज्ञवाली हरेक अभिभावक र महिनावारी उमेरका महिला आफैँ सचेत हुन आवश्यक रहेकामा जोड दिन्छिन् । रासस