चुरेको अत्यधिक दोहनको कारण मधेश मरुभूमीकरण भयो, तत्काल साझा प्रयत्न गरौं : महासचिव चन्दन सिंह (भिडिओ सहित)


काठमाडौं, ८ साउन । जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले मधेश प्रदेशमा देखिएको खडेरीको समस्या तीनवटै सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिएका छन् । उनले मधेश अहिले सुख्खाग्रस्त समस्याबाट गुज्रिनुको मुख्य कारण प्राकृतिक दोहन र विश्वव्यापी जलवायु संकट भएको टिप्पणी गरे ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘प्राकृतिक स्रोतको चरम दोहन भएको छ । यसको ठूला प्रभाव छ । जलवायु संकटको व्यापक असर नेपालमा परेको छ । पानी नपरेपछि अहिले मधेशमा असर परेको छ। मधेश कृषिमा आधारित क्षेत्र हो, तर अहिले यही क्षेत्रमा ठूलो खडेरीको समस्या र असर पर्न गयो । चुरे दोहन हुनु महान कारण हो ।’

उनले मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो दलले गरेको एक वर्ष पूरा भएको र यो बीचमा राम्रो काम गर्ने प्रयास गरेको बताए । उनले भने,‘हामीले मधेशमा सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भयो, त्यहाँ सरकारले जुन रुपमा काम गर्नुपर्ने हो अधिकारसम्पन्न नभएकोले गर्नुपर्ने काम गर्न सकिएको छैन । संविधानअनुसार नै अधिकार प्रत्योजन हुनुपर्छ । हामीले यो कुरा उठाउँदै आएका छौं ।’ उनले चुरेको अत्यधिक कटानको कारण मधेश आज मरुभूमीकरण भएको टिप्पणी गरे । उनले भने,‘अहिले मधेशका किसान समस्यामा छन् । रोपाईैंमा यसको असर परेको छ। धान रोपेको छ, तर खेत चिराचिरा भएको छ । एक–अर्काले पूरक रूपमा नदेखेको कारण यस्तो समस्या निम्त्यिो । तीन सरकारबीच मेल नहुँदा समस्या समाधान गर्न सकएिन ।’

उनले सिंगो मधेशलाई नै पूर्णतः सिचाईंको व्यवस्था गरिनुपर्ने बताए । मधेशलाई सिचाईंको व्यवस्था नगरेसम्म सिंगो देश गरिबीमै रहने उनको चिन्ता छ । उनले भने,‘त्यसैले मधेशलाई पूर्ण सिचाईंको वातावरण बनाउनुपर्छ । अहिले जो खडेरी परेको छ । हामीले केन्द्र सरकारसँग राहत मागेका छौं । प्रधानमन्त्रीज्यूले राहतको आश्वासन दिनुभएको छ । खानेपानीको समस्याको लागि प्रदेश सरकार गम्भीर छ, यसले आफ्नो जिम्मेवारी पूरा गर्छ । वारुणयन्त्रको माध्यमबाट पानी वितरण गरिरहेको छ ।’

अहिले मधेशका प्रत्येक गाउँ तथा टोलको पानीको मुहान र स्रोत सुकेको उनको भनाई छ । उनले थपे,‘जमिनमुनिको आन्तरिक स्रोत सुकेको छ । सुनकोशी मरिन, सुनकोशी कमलाको पानी ल्याउँ । जमिन रिचार्ज हुनुपर्छ । मधेशको सिचाईं भयो भने पूरा देशलाई भोको रहन दिन्नौं । अहिलेको समस्यालाई राष्ट्रिय विषय बनाएर समाधान गर्नुपर्छ ।’

उनले मधेशमा जनमतको मात्रै सरकार नभएर चार वटा पार्टीको मिलिजुली सरकार रहेको स्मरण गराए । भ्रष्टाचार तथा बेथिति नियन्त्रणको लागि संयुक्त संयन्त्र बनाउनुपर्ने प्रस्ताव राखे । उनले भने,‘अहिले जनमत पार्टी एक वर्षदेखि मधेश सरकारको नेतृत्वमा छ । तर, सिस्टम त त्यही पूरानै चलिराखेको छ । ०४६ सालदेखिको प्रणाली चलिरहेको छ । जनमतले भ्रष्टाचार गरेको छ भन्ने भाष्य गलत छ ।’