स्रष्टा ढुङ्गानाको नयाँ कृति सार्वजनिक


काठमाडौं । जननायक तथा नेपाली आख्यान विधाका नक्षत्र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक सार्वजनिक भएको छ ।

वरिष्ठ साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित सो पुस्तक प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीका पुत्र एवं नेपाली काँग्रेस नेता डा. शशाङ्क कोइराला, पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रकाशन न्यूरोड बुक स्टोरका सञ्चालक राजेश गजुरेललगायतले मंगलवार संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

काठमाडौंमा आयोजित सो कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै नेता कोइरालाले राजनीतिमा मानिसले यस्तो होस् भनेर सोचिरहे पनि त्यस्तो नहुने गरेको उल्लेख गर्दै राजनीतिको बाटोमै रमाउनेले मात्र यसमा अडिरहन सक्ने उल्लेख गरे ।

शिक्षाविद् माथेमाले बीपीको आत्मवृत्तान्तबाट पात्र निकालेर बनाइएको कथामा लेखक ढुङ्गानाको मौलिकता रहेको बताए । कुनै पुस्तकका पात्र निकालेर बनाइएको कथाको सो पुस्तक नेपाली साहित्यमा नयाँ प्रयोग भएको समेत उनको भनाइ छ । पुस्तक सानो भए पनि यसमा धेरै कुरा समेटिएकाले पठनीय रहेको शिक्षाविद् माथेमाको कथन थियो ।

लेखक ढुुङ्गानाले वि.सं. २०५५ मा बीपीको आत्मवृत्तान्त प्रकाशन हुनासाथ यो कृति पढेको उल्लेख गर्दै आफ्ना पिता विष्णुप्रसाद कोइरालाको संस्मरण पढेदेखि नै यस विषयमा लेख्ने सोच बनाएको बताएकी थिइन् । बीपीको जीवन, आदर्श र सङ्कल्पलाई चिनाउन पनि यो पुस्तक पर्याप्त हुने ढुुङ्गानाको दाबी छ ।

राजनीतिक विश्लेषक केसीले बीपी कोइराला विगत ५० वर्षदेखि चर्चा भइरहने राजनीतिक व्यक्तित्वका रूपमा स्थापित भएको बताए । राजनीतिमा बीपीलाई पुनर्ताजगी दिन पुस्तक सफल रहेको उनको बुझाइ छ । ढुुङ्गानाको उपन्यास ‘परित्यक्ता’ वि.सं. २०७६ मा मदन पुरस्कार पाउने सूचीका सात उत्कृष्ट कृतिमध्येको एक थियो । यो नारी अस्तित्वमाथि केन्द्रित उपन्यास हो ।

कथा, निबन्ध र उपन्यासमा समानान्तर रूपमा कलम चलाउने ढुुङ्गाना विगत चार दशकदेखि लेखनमा सक्रिय छिन् । परित्यक्ता उपन्यास ‘नेपालय पब्लिकेशन’ले प्रकाशन गरेको थियो । उनका यसअघि पाँचवटा कृति प्रकाशन भइसकेका छन् ।

पुस्तक प्रकाशक संस्था (न्यूरोड बुक स्टोर) का सञ्चालक राजेश गजुरेलले संस्थाको पहिलो कृतिका रूपमा बीपीको पुस्तक प्रकाशन गरेको र आगामी दिनमा यस्ता कृति प्रकाशनमा निरन्तरता दिने प्रतिबद्धता जनाए । एक सय ११ पृष्ठको यस कृतिमा २१ शीर्षकमा कथा लेखिएका छन् ।