काठमाडौं, ९ साउन । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलनमार्फत आफ्नो भावी योजना सार्वजनिक गर्ने भएकी छिन् । एमालेको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकमा भण्डारी चर्चाको केन्द्रमा थिईन् ।
उनलाई पार्टीमा स्वागत गर्ने वा निषेध गर्ने भन्ने विषयमा बहस केन्द्रित थियो । केन्द्रीय कमिटी बैठकले भण्डारीलाई एमालेमा नफर्काउने निर्णय गरेको छ । यो निर्णयले भण्डारी पक्ष असन्तुष्ट बनेको छ । यही सन्दर्भमा भण्डारीले आज काठमाडौंको बबरमहलमा रहेको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर भावी रणनीति र रोडम्याप सार्वजनिक गर्ने भएकी हुन् ।
यसअघि उनले पत्रकार ऋषि धमलासँगको संक्षिप्त प्रतिक्रिया दिँदै आफू नरोकिने बताएकी थिईन् । उनले अब देशव्यापी अभियान लिएर जानेसमेत घोषणा गरेकी छिन् । उनको आजको घोषणाले भावी राजनीति र उनले चाल्ने कदमबारे स्पष्ट हुनेछ ।




प्रतिक्रिया