रूपन्देही-३ मा कांग्रेसलाई एमाले र रास्वपाको डर, माओवादीलाई प्रतिस्पर्धी नै ठानेन


काठमाडौं, ९ साउन । नेपाली कांग्रेसले रुपन्देही–३ को उपनिर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बसेको पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरुसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए । बैठकको निर्णय जानकारी गराउँदै घिमिरेले भने, ‘प्रमुख चुनौति भनेको त अब भोटको हिसाले एमाले दोस्रो छ, रास्वपा तेस्रो दल रहेको छ । मधेशवादी दलहरु एक भएर चुनाव लडेभने ती पनि प्रतिस्पर्धीको रुपमा आउँछन् । सँगसँगै यसपाली स्वतन्त्र उम्मेदवारको संख्या पनि बढी हुने सम्भावना छ ।’

साथै, रुपन्देही–३ को उम्मेदवार बारे कांग्रेसले अहिले केही पनि टुङ्गो नलगाएको बताए । उम्मेदवार पछि बस्ने बैठकले टुङ्गो लगाउने उनको भनाइ छ । गत २०७९ को निर्वाचनमा कांग्रेसले यो स्थानबाट सबैभन्दा धेरै २० हजार मत पाएको उनले बताए । ‘कांग्रेसले त्यतिबेला २० हजार मत पाएको थियो । दोस्रो पार्टी एमाले थियो । १६ हजार मत, तेस्रो पार्टी रास्वपा १४ हजार मत,’– उनले भने ।

प्रतिनिधिसभा सदस्य चयनका लागि रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।