किरण विकद्वारा रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा


काठमाडौं, ९ साउन । रूपन्देही–३ मा हुने उपनिर्वाचनको लागि किरण विकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । बुटवल स्थायी ठेगाना भएको विकले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘रूपन्देही–३ मा उम्मेदवारी दिने मैले निर्णय लिएको छु,’– उनले भने ।

रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । निर्दलीय उम्मेदवारीको उद्घोष गरेका विक विगत ११ वर्षदेखि राजनीति, फिल्म निर्माण र लेखन कार्यमा सक्रिय रहेका छन् ।

उनले आफ्नो उम्मेदवारी पुरानालाई लखेट्न मात्र नभई नयाँहरुलाई सुधार्नका लागि रहेको बताए । उनले नयाँहरु यति छिट्टै मैमत्त र अनियन्त्रित भएको बताए ।

युवाहरुले आशा र भरोसा गरेको नयाँहरु पुरानाभन्दा पनि छिटो फेज आउट हुने त होइनन् भन्ने डरले डरले आफूलाई उम्मेदवारीतर्फ डोहोर्याएको उनले सुनाए । नयाँहरुमा कत्ति पनि राजनीतिक सुझबुझ नदेखिएको उनको भनाइ छ ।

‘म बलियो राजनीतिक सुझबुझ सहित आउनै पर्ने भयो । समग्र निर्दलीय अभियानको एउटा खम्बाको रुपमा उभिनै पर्ने भयो । धेरै साथिहारु ८४ कुरेर बसेका छन् । तर, नयाँ संगै छु ८४ मा सबै एकैपटक बहुमत ल्याउने भनेर बस्दा धेरै चिज गुमिसकेको हुने साथिहरुले थाहा पाउनै सकेनन्,’ उनले भने ।

३१ वर्षीय विकले अर्वन प्लानिङमा मास्टर्स डिग्री, कानुनमा स्नातक र फिल्म मेकिङमा स्नातक गरेका छन् ।