बाराबाट किसान श्रेष्ठको प्रष्टोक्ति : एमालेमा जाने कुरा भएको छैन, पार्टी फुटाउँदैनौं (भिडिओ सहित)


काठमाडौं, ९ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठले अहिले सिंगो मधेशभरि खानेपानीको हाहाकार भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै नहुने भन्दै तत्काल राहत दिन सरकारसमक्ष माग गरेका छन् । आज (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले आफूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशको स्थितिबारे सार्वजनिक मञ्चबाट अपिल गर्न नपाएपनि कानमा यहाँको अवस्थाबारे प्रकाश पारेको सुनाए । उनले मधेशका जनता पिउने पानीको लागि सडकमै उत्रिने र लुटपाटको अवस्था पनि सिर्जना हुनसक्ने भन्दै सरकारलाई समयमै बुद्धि पुर्याउन भनेका छन् ।

बाराको आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आएकोले आफू कार्यक्रममा सहभागी भएको श्रेष्ठको भनाई छ । तर, एमालेमा जाने कुनै सहमति नभएको उनको जिकिर छ । उनले एमालेमा जाने भन्ने कुरा नभएको र पार्टी नफुटाउने जिकिर गरे । सरकारी कार्यक्रम लिएर प्रधानमन्त्री ओली आफ्नो क्षेत्रमा आएकोले स्वागत गर्नु आफ्नो कर्तव्य हुन आएको पनि उनले सुनाए ।