काँग्रेसलाई सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ : पद्यमा अर्याल


काठमाडौं, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सरकारले गरेका काम र प्राप्त उपलब्धिहरूलाई जनतामाझ लैजान पार्टीपङ्क्तिलाई निर्देशन दिएकी छिन् । एमाले नेतृत्वको गठबन्धन सरकारले मुलुकको असहज परिस्थितिका बाबजुद पनि विकास निर्माणका सवालमा महत्वपूर्ण उपलव्धि हासिल गरेको तर मुलुकमा केही भएन भनेर निराशा र तथ्यहीन तर्क गरेर गलत भाष्य सिर्जना गर्न खोजिएको भन्दै उनले भएका विकास निर्माणका कामलाई जनतामाझ लैजान आग्रह गरेकी हुन् ।

पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको पार्टी सञ्चालन र व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरू आन्दोलनमा रहेको स्मरण गर्दै उनले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको पनि स्मरण गराईन् ।

उनले अघि भनिन्,‘यो मात्र होइन, नेपालमा सुरुङ मार्ग असम्भव छ भन्नेहरूलाई सरकारले सम्भव बनाएर देखाएको छ, काँग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ, सबै आर्थिक सूचकहरू बढेका छन्, यी महत्वपूर्ण उपलव्धि हुन् ।’ सामाजिक अराजकता मुलुकमा व्याप्त निराशाको प्रमुख कारण रहेको जिकिर गर्दै उनले निराशालाई चिर्न कार्यकर्ताले आम जनतामा उत्साह भर्न सक्नुपर्ने बताईन्।