खानेपानी मन्त्री प्रदीप यादवलाई तुरुन्तै हटाउनुपर्ने पूर्व मुख्यमन्त्री यादवको माग, फेशबुकमा फोटो राख्नुबाहेक केही काम नगरेको आरोप (भिडिओ सहित)


काठमाडौं, १० साउन । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा जसपा नेपालका नेता सरोजकुमार यादवले मधेशका जनता खडेरीको मारमा परेको र अहिले पिउने पानीको समेत हाहाकार भएको बताएका छन् । यस्तो अवस्थामा प्रदेश र केन्द्र सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक अरु केही गर्न नसकेको उनको आरोप छ ।

अहिलेसम्म प्रदेशका जनताको लागि केन्द्र सरकारले केही पनि व्यवस्था नगरेको भन्दै यादवले आक्रोश पोखे । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले केन्द्र सरकारका खानेपानीमन्त्री प्रदीप यादवको भूमिकाको समेत आलोचना गरे ।

उनले मन्त्री यादवले जनताको लागि केही पनि व्यवस्था नगरेको आरोप लगाए । उनले भने,‘प्रदीपजीको काम आफ्नो क्षेत्रको लागि आफ्नो भोटरको लागि बोरिङ खन्ने व्यवस्था गरिदिने, तर जनताको लागि उहाँले केही पनि गर्नुभएको छैन । उहाँले फेशबुकमा फोटो राख्नुबाहेक एउटापनि गतिलो काम गर्नुभएको छैन् ।’ उनले खानेपानी मन्त्री यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्तै पदबाट हटाईदिनुपर्ने माग गरे । file photo