प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेर्ने विषयमा सभापति देउवासँग परामर्श गर्नुभएको छैन : मीन विश्वकर्मा (भिडिओ सहित)


काठमाडौं, १० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले अहिलेको कांग्रेस–एमाले सरकार ठीक बाटोमा नै रहेको दाबी गरेका छन् । तर, सरकारले नागरिकका अपेक्षालाई भने भेट्याउन नसकेको उनको गुनासो छ ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले तिव्र गतिमा नागरिकका अपेक्षा पूर्ति गर्नको लागि रणनीति कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । मन्त्रीहरु हेरफेरको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय लिन सक्ने उनले सुझाए ।

तर, अहिलेसम्म मन्त्रीहरु फेरबदलको विषयमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासँग कुनै परामर्श नगरेको उनको भनाई छ । उनले भने,‘उहाँले मन्त्रीहरु हेरफेर गर्न चाहनुभयो भन्ने कुरा पत्रपत्रिकाबाट हामीले सुनिरहेका छौं । तर, हाम्रो पार्टी नेतासँग वा औपचारिक तहसम्म कुनै प्रस्ताव आएको छैन् । मन्त्रीहरु भनेको लोकसेवा पास भएर स्थायी जागिर खाएकोजस्तो होईन ।’