काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन भण्डारीका चारवटी श्रीमती थिए र सहकारी ठगीको आरोप थियो’ भनेपछि एमाले संकट गहिरिएको बताएका छन् । आज (शनिबार) सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले एमालेमा ठूलो आइडिओलोजिकल र पोलिटिकल क्राइसिस रहेको बताए । उनले एमालेभित्र झन ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखा परेको बताए ।
पछिल्लो समयमा एमालेमा जनताको बहुदलीय जनवाद (बजब) को प्रवर्तक र प्रस्तावक नै को हो भन्ने खालको वैचारिक द्वन्द्व सुरु भएको उनले बताए ।
‘अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकाएको हामी सबैलाई थाहा छ । तर, आजको दिन शंकट के भयो भने जबजको उत्तराधिकारी को हो ? जबजको प्रवर्तकै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो । यो ठूलो संकट हो,’ उनले भने, ‘अस्ती प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा मदन भण्डारीका चार वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले उहाँ अगाडि आउनु भएको छ र यो संकट गहिरिने देखिएको छ ।’




प्रतिक्रिया