काठमाडौं, १० साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह भारत यात्रामा निस्किएका छन् । पार्टी गठन गरेपछि साह पहिलोपटक राजनीतिक कार्यक्रमको लागि विदेश यात्रामा निस्किएका हुन् । नेपालीहरूको बाहुल्यता रहेको भारतको मुम्बई शहरमा भोलि (आइतबार) आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनी आज मुम्बई पुगेका हुन् ।
पार्टीको शुभेच्छुक संगठन आम प्रवासी नेपाली एकता समाजको ब्यानरमा भोलि मुम्बईको झुला मैदान, साल्वेशन आर्मी मदनपुरामा विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा अध्यक्ष साहले अहिलेको नेपालको राजनीतिक परिवेशको चर्चा गर्ने भनिएको छ।
रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले आफू नेपालको अहिलेको सामाजिक, राजनीतिक र आर्थिक परिवेशको बारेमा प्रवासमा बसेका नेपालीहरुमाँझ चर्चा गर्नको लागि भारत आईपुगेको जानकारी दिए । साहले नेपालमा लोकतन्त्र मासिएको र दिनदिनै लुटकारी दलतन्त्र लादिएको भन्दै अहिलेको व्यवस्थाको विकल्प खोजिनुपर्ने मत राख्दै आएका छन् ।
अहिलेका राजनीतिक दलहरुबाट देश उँभो नलाग्ने भएकोले तेस्रो ऐतिहासिक जनआन्दोलनको पनि उनले आवश्यकत्ता औंल्याएका छन् । विश्वभरि छरिएर रहेको स्वाभिमानी, विवेकी, बहादुर र इमानदार नेपालीहरुलाई नेपाल किन बन्न सकेन ? र कसले लुटिरहेको छ भन्नेबारे यथार्थ बताउन जरुरी देखेर आफू पहिलो विदेश यात्राको लागि भारत निस्किएको साहको भनाई छ । भारतमा साहलाई पार्टीका नेताहरु अमर साह, विजय यादव र प्रवासका अगुवा शुभेच्छुकहरुले एयरपोर्टमा स्वागत गरेका थिए ।




प्रतिक्रिया