रौतहटपछि धनुषा पुगे ऋषि धमला, अब सरकारसँग कुनै आशा नभएको किसानहरुको भनाई (भिडिओ सहित)


काठमाडौं, १० साउन । खडेरीको मारमा परेका मधेशका किसानहरु सरकारले केही राहत नदिएकोमा आक्रोशित बनेका छन् । प्रदेश र केन्द्र सरकारले मधेश प्रदेशलाई विपत् संकटग्रस्त घोषणा गरेपछि किसानले केही राहत पाउने आशा गरेका थिए । तर, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको उपस्थिति नभएको भन्दै किसानहरुले आक्रोश पोख्न थालेका छन् ।

स्थलगत रिपोर्टिङको लागि टिमसहित मधेश ओर्लिएका पत्रकार ऋषि धमलासँग रौतहट र धनुषाका कारण किसानले यस्तो विपत्तिको बेलामा पनि सरकारको उपस्थिति नभएको भन्दै कडा आक्रोश पोखे । रौतहटको धान खेतबाट प्रत्यक्ष प्रसारण गरेका धमला सिधै धनुषा पुगेका छन् । रातैहटमा जस्तै धनुषाका धानका गराहरुमा धाँजो परेको छ ।

किसानहरु पुर्पूरोमा हात समातेर आर्तना गरिरहेका छन् । मलखाद नदिएको र सिचाईंको कुनै व्यवस्था हुन नसक्दा यो वर्षको धान रोपेकै अवस्थामा मरिसकेको छ । धान खेत यतिवेला मरुभूमीकरणमा परिणत भएको छ । सिंगो मधेश यतिवेला खानेपानीको समस्यामा परेको छ । नागरिक रित्तो भाँडा बोकेर पानी माग्दै सडकमा निस्किएका छन् ।

तर, संघीय सरकारले विपत् संकटग्रस्त घोषणा र डिप बोरिङ गाड्नेबाहेक अरु केही गर्न सकेको छैन । सरकार नआएको तर ऋषि धमला आफूहरुको पीर मर्का बुझ्नको लागि खेतमै आएको भन्दै किसानहरुले सरकारलाई सहयोग गर्नको लागि दबाब दिन धमलासँग आग्रह गरेका छन् ।