मधेश प्रदेशको पूरा बजेट लगानी गरेपनि खानेपानीको समस्या समाधान हुन सक्दैन : मुख्यमन्त्री सिंह (भिडिओ सहित)


काठमाडौं, १० साउन । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले आफ्नो क्षतिअनुसार खडेरीबाट उत्पन्न विपत् संकटग्रस्तको सामना गरिरहेको बताएका छन् । आफूहरुले धेरै अघि नै मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको र अहिले केन्द्र सरकारले पनि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको उनले स्मरण गराए ।

नेपाली सेनासँगको सहकार्यमा बारा, पर्सालगायतका जिल्लाका विभिन्न ठाउँमा खानेपानीको वितरण गरिएको पनि उनले सुनाए । आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अहिले मधेशका १२७१ वडामा नै पानीको हाहाकार रहेको पनि मुख्यमन्त्री सिंहले अवस्था सुनाए । उनले अहिले मधेश प्रदेशको पूरा बजेट नै लगानी गरेपनि खानेपानीको समस्या समाधान हुन नसक्ने दाबी गरे ।

उनले अहिलेको खडेरीबाट बाहिर निस्किनको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । मधेश आँफैमा अन्न भण्डार भएकोले अहिलेको देखिएको समस्या नदोहोरिनको लागि सबै सरकार गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।