मधेशका मुख्यमन्त्री सतिश सिंहलाई ऋषि धमलाको प्रश्न : तपाईंको सरकारको आयु कति हो ? (भिडिओ सहित)


काठमाडौं, १० साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढुक्कसँग काम गर्न र अहिले मधेश सरकारको बारेमा केही विकल्प नसोचिएको भनेर भनेको स्पष्ट पारेका छन् । प्राइम टिभीको लागि पत्रकार ऋषि धमलाले “तपाईं नेतृत्वको यो सरकारको आयु कति हो ?” भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

उनले भने-“मलाई प्रधानमन्त्रीज्यूले तपाईं काम गर्नुहोस, अहिले केही छैन भन्नुभएको छ । अनि अर्को कुरा मैले यो सोध्ने कुरा पनि होईन कि सर, म एक महिनाको लागि हो कि ? दुई महिनाको लागि हो भनेर ? मलाई उहाँहरुले काम गर्न भनिरहनुभएको छ, म अहिले काम गरिरहेको छु नि । हिजो नै प्रधानमन्त्रीज्यूसँग भेट हुँदा उहाँले द्रुत गतिमा काम गर्नुहोस भन्नुभएको छ । प्रधानमन्त्रीजीको मलाई ग्रिन सिग्नल छ ।”

उनले आफ्नो दलले अहिले संघीय सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पनि स्पष्ट पारे । सत्ता सहकार्यको विषयमा अध्यक्ष सिके राउतले नै डिल गर्ने उनको भनाई छ । उनले मधेश प्रदेशको सरकारको नेतृत्व गर्दा आफूले कतै र केही पनि गल्ती नगरेको पनि जिकिर गरे ।