बहादुरसिंह लामाले प्रदेश सरकार अगाडि बढाउन सक्नुहुन्न भन्ने निष्कर्षसहित अविश्वासको प्रस्ताव दर्ता गरायौंः सुरजचन्द्र लामिछाने


काठमाडौं, ११ साउन । बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ असफल भएपछि आफूहरुले पदबाट राजीनामा दिएको बताएका छन् । नेतृत्व असफल हुँदैगर्दा आफूहरुले पटक–पटक सच्चिन अनुरोध गरेको र सच्चिने स्थिति नदेखिएपछि नेतृत्व परिवर्तनका लागि राजीनामा गरेको बताए । आफूहरुले दिएको राजीनामा स्वीकार नगरी बर्खास्त गरेको उनले बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘नेतृत्व असक्षम भयो । यही नेतृत्वमा रहेर हामीले प्रदेश सरकारको अपेक्षा, प्रदेश सरकारको उपस्थिति राम्रो नदेखिएको अवस्थामा फेरि यहीँ ढङ्गले.अगाडि बढ्यौं भने अझ बढ्ता भड्खालोमा परिन्छ भन्ने सोचका साथ हामीले यो नेतृत्वलाई पटक–पटक सच्चिन अनुरोध गर्यौं । नसचिने अवस्था देखिसकेपछि यसमा आफू पनि बस्नुभन्दा बरु बाहिर रहनु उचित देखेर म लगायत केही साथीहरुले राजीनामा गर्यौं ।’

साथै, उनले अब मुख्यमन्त्री तामाङले राजीनामा दिनुपर्ने उनले बताए । कांग्रेसको विधि विधानअनुसार अब प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । ‘३७ जना माननीय मध्ये २१ जनाले हस्ताक्षर गर्नुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा अविस्वासको प्रस्ताव दर्ता भएको छ । त्यहाँ दलको सचिवले बुझ्नुभएको छ । कांग्रेस संसदीय दलको विधि विधानअनुसार यो प्रक्रिया अगाडि बढ्छ,’– उनले भने ।