प्रचण्डलाई योगेशको प्रश्नः ‘विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’


काठमाडौं, ११ साउन । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’ भन्दै प्रश्न गरेका छन् । नेता भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा २०८० फागुन ११ गते संसद्मा विधेयक दर्ता भएको स्मरण गराएका छन् । त्यो बेलामा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था नगरिएको उनले बताएका छन् । सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस सुरु भएको तथ्य हेक्का राख्न पनि उनले भनेका छन् । आजको दिनमा प्रचण्ड प्रतिपक्षीको बेन्चमा पुगेपछि कुलिङ अफ पिरियडको भूत जागेको उनको भनाइ छ ।

‘२०८० फागुन ११ गते संसद्मा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुथ्यो र तपाई कै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’ प्रश्न गर्दै उनले भनेका छन् ।

प्रचण्डले शनिबार एक कार्यक्रममा कुलिङ अफ पिरियडमा भएको छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानविन हुनुपर्ने धारणा राखेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिको खण्डन गर्दै उनले भनेका छन्, ‘प्रतिनिधिसभाको राज्य ब्यवस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो । तर, समितिको प्रतिवेदन संसद्मा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम् सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईन र ? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफ्नै बोली आफैलाई गलापासो नहोस्,’– उनले भनेका छन् ।

उनले आफूहरु निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बताएका छन् । ‘यो विषयको संशोधन हामीले (सांसदहरू) नै राखेका हौं । आज पनि हामी यो अडानमा कायम छौं,’– उनले भनेका छन् । File Photo/RN