एमालेले विद्या भण्डारीलाई राजनीति गर्न रोक लगाएको छैनः आनन्द पोखरेल (भिडिओसहित)


काठमाडौं, ११ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पार्टीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोसियल पोलिटिक्स गर्न नरोकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भण्डारीलाई एमालेले पावर पोलिटिक्समा मात्रै आउन मिल्दैन भनेको बताएका हुन् । नेता पोखरेलले भण्डारीले सामाजिक सेवा गर्ने, जलवायु परिवर्तनको मुद्दा, महिला अधिकार, सामाजिक न्याय,जनताको जीविका, नेकपा (एमाले) ले अगाडि सारेको राजनीतिक दर्शन जनताको बहुदलीय जनवादको सन्दर्भमा सक्रिय राजनीति गर्न सक्ने बताए ।

‘विद्या भण्डारीलाई राजनीति गर्न रोक लगाएको छैन । राजनीति दुई खालका हुन्छन् । एउटा पावर पोलिटिक्स हुन्छ, अर्को सोसियल पोलिटिक्स हुन्छ । पावर पोलिटिक्स र पार्टीगत ढंगले पूर्वराष्ट्रपतिले राजनीतिमा संलग्न हुँदाखेरी उपयुक्त हुँदैन भन्ने तर्क बलशाली भयो केन्द्रीय समितिमा । त्यही तर्कको आधारमा निर्णय भएको हो । तर, उहाँलाई सोसियल पोलिटिक्स, सोसियल पोलिटिक्स भनेको उहाँको सामाजिक सेवा गर्ने, जलवायु परिवर्तनको मुद्दा धेरै उठाउनुहुन्छ । महिला अधिकारबारेमा, सामाजिक न्यायको बारेमा, जनताको जीविकाको बारेमा, नेकपा (एमाले) ले अगाडि सारेको राजनीतिक दर्शन जनताको बहुदलीय जनवादको सन्दर्भमा र नेकपा (एमाले) लाई अभिभावकत्व दिने कुरामा राजनीति गर्न उहाँलाई कसैले पनि रोकको छैन । उहाँले क्रियाशील ढंगले ती क्षेत्रमा राजनीति गर्नुहोस् भन्ने अपेक्षा गरेका छौं,’– उनले भने ।

एमालेको केन्द्रीय समितिको निर्णयले भण्डारीका सबै गतिविधिलाई प्रतिबन्ध लगाउन नसक्ने, राजनीति गर्ने चाहनालाई पनि रोक्न नसक्ने उनको भनाइ छ ।