पार्टीलाई बलियो बनाउन किरातीले अगाडि सारे चार शर्त, विभाजनको आरोप लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने


काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पछिल्लो पार्टी केन्द्रीय समितीको निर्णयको स्पिरिटअनुसार पार्टीलाई अगाडि बढाउन आग्रह गरेका छन् । उनले विभिन्न चार बुँदे शर्तहरु अगाडि सार्दै सोही शर्तका आधारमा पार्टीलाई अगाडि बढाउन माग गरेका छन् ।

पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीब्र बनाउनुपर्ने उनको पहिलो शर्त रहेको छ । उनले शहिदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुनुपर्ने बताएका छन् ।

साथै, प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवादको आवश्यकता पनि उनले औंल्याएका छन् । नेता किरातीले अधिवेशनबाट पार्टी भाग्न खोजेको संकेत गरे । अधिवेशन नै नगरेपछि पार्टीमा विधि निर्माण नहुने उनको तर्क रहेको छ ।

त्यस्तै, उनले नेतृत्वको विचार र योगदानलाई जुगजुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्नुपर्ने आवश्यकतासमेत औल्याएका छन् ।